‘जिरो डिग्री’मा सनिशा भट्टराई अनुबन्धित

0 Shares

काठमाडौं। छायाङ्कनको तयारीमा रहेको चलचित्र ‘जिरो डिग्री’मा मुख्य नायिकाको रूपमा सनिशा भट्टराई अनुबन्धित भएकी छन्। निर्माण टिमले चलचित्रको मुख्य महिला पात्रका लागि उनलाई चयन गरेको छ।

यसअघि मात्र ‘अरे हो नेता जी’ नामक व्यङ्ग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस चलचित्रमा अब सनिशा भट्टराईको प्रवेशसँगै कलाकारहरूको लाइनअप अझ बलियो भएको छ। रङ्गमञ्च तथा चलचित्रमा सशक्त अभिनयका लागि परिचित विजय बराल मुख्य भूमिकामा रहेका छन्। सनिशा र विजयको जोडी पर्दामा देखिनेछ वा अन्य भूमिकामा रहनेछ भन्ने बारे हाल खुलाइएको छैन।

चलचित्रको प्रचारप्रसार स्वरूप केही दिनअघि मात्र विजय बराल र अङ्कित बाबु अधिकारीको स्वरमा ‘अरे हो नेता जी’ गीत सार्वजनिक गरिएको थियो। शब्द युवराज काफ्ले र संगीत अङ्कित बाबु अधिकारीकै रहेको गीतले समसामयिक राजनीति र विकासको नाममा गरिने टालटुले प्रवृत्तिलाई तिखो व्यङ्ग्य गरेको छ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने ‘जिरो डिग्री’ डार्क कमेडी जनरामा आधारित फिल्म हो। कथावस्तु मौलिक रहेको यस फिल्ममा, सडक सञ्जाल नपुगेको दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तानहरू गाउँ आइपुग्ने क्रममा शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने घटना–उथलपुथललाई देखाइनेछ।

चलचित्रको निर्देशन तथा पटकथा आकास बरालसाजन काफ्लेले संयुक्त रूपमा गर्दैछन्। कथाकार राजन भुसाल चलचित्रमा अभिनय पनि गर्नेछन् भने कार्यकारी निर्माता मोती कार्की हुन्। छायांकन निशाल पौडेलले गर्नेछन् र वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

सम्बन्धित समाचार

सबै