काठमाडौं। पर्यटकीय जिल्ला इलामका सिनेमाप्रेमीहरूका लागि खुशीको खबर: धरान र बुटवलमा सफलतापूर्वक सञ्चालनमा रहेका फ्रेन्ड्स सिनेमाजले इलाममा आफ्नो तेस्रो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
शुक्रबार एक भव्य समारोहका बीच इलाम नगरपालिका–७ स्थित नयाँ हलको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता पल शाह, चर्चित अभिनेत्री उषा उप्रेती र द्वन्द्व निर्देशक तथा निर्माता चन्द्र पन्त विशेष उपस्थित थिए।
आफ्ना प्रिय कलाकारलाई नजिकबाट देख्न पाएका इलामेली दर्शकहरूको उत्साह अत्यधिक थियो। हल परिसर दर्शकको बाक्लो उपस्थितिले उत्सवमय बनेको थियो।
करिब ३ करोड ५० लाख रुपैयाँ लगानीमा निर्माण भएको यो हलमा १८८ सिट क्षमता रहेको छ। नगरपालिकाको पार्किङ भवनमा सञ्चालनमा आएको यस हलमा ‘टुके प्रोजेक्सन’ र ‘डल्बी डिजिटल साउन्ड सिस्टम’ जडान गरिएको छ, जसले काठमाडौंका महँगा मल्टिप्लेक्समा पाइने जस्तै गुणस्तरीय ध्वनि र दृश्य अनुभव दिन्छ।
फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीका अनुसार हलले इलामका दर्शकलाई पारिवारिक र सुविधासम्पन्न वातावरणमा चलचित्र हेर्ने अवसर प्रदान गर्नेछ। उनले भने, “हाम्रो लक्ष्य मोफसलका दर्शकलाई राजधानीको स्तरको सेवा दिनु हो। अब इलामका फिल्म प्रेमीहरूले गुणस्तरीय सिनेमा हेर्न झापा वा अन्य शहर जानुपर्ने छैन।”
इलाममा स्तरीय सिनेमाघरको अभाव हुँदा फ्रेन्ड्स सिनेमाजको आगमनले स्थानीय मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थपेको छ। नयाँ नेपाली चलचित्रहरू रिलिजको दिनै इलाममा प्रदर्शन हुनेछन्, जसले स्थानीय बासिन्दा र पर्यटक दुबैका लागि मनोरञ्जनको गन्तव्य थपेको छ।
फ्रेन्ड्स सिनेमाजले आगामी दिनमा देशका अन्य शहरहरूमा पनि आफ्नो चेन विस्तार गर्ने योजना रहेको जनाएको छ। निर्देशक आशिष एच तामाङका अनुसार, घरेलु बजार विस्तार गरेर मात्रै नेपाली चलचित्र उद्योगलाई स्थायित्व दिन सकिन्छ, र साना–सानो हल खोलेर जिल्ला–जिल्लामा दर्शक पहुँच बढाउने योजनामा छन्।