नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको सिनेमा ‘ह्रस्व दीर्घ’ भोलि बिहीबारबाट अष्ट्रेलियामा रिलिज हुने भएको छ।
अष्ट्रेलियामा यसलाई सेभेन सिज इन्टरटेनमेन्टले वितरण तथा प्रदर्शन गरिरहेको छ ।
यस सिनेमाकी अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले सिनेमा अष्ट्रेलियाका विभिन्न शहरहरूमा प्रदर्शन हुने जानकारी दिएकी छन्।
उनका अनुसार नेपालमा दर्शकबाट अत्याधिक माया पाएपछि विदेशमा पनि माग बढेको छ।
हाल दोश्रो हप्तामा चलिरहेको सिनेमाले वक्सखफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । व्यापारबाट हौसिएकी अभिनेत्री नीता ढुंगाना यतिबेला आफ्नो टिमसहित मोफसल दौडाहमा व्यस्त छिन्।
सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारहरूको अभिनय छ।
सिनेमाको कथा अभिनेता हरिहर अधिकारीको हो भने पटकथा र संवाद प्रतीक पौडेल र हरिहर अधिकारीको रहेको छ।
बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले सिनेमाको छायांकन गरेका छन्। चन्द्र पन्तको निर्देशनमा बनेको यो सिनेमा पन्तको नेपाली सिनेमा क्षेत्रको पहिलो निर्देशकीय डेब्यू हो।
पन्तले यसअघि केही भोजपुरी सिनेमामा निर्देशन गरेका थिए र नेपाली सिनेमामा द्वन्द्व निर्देशकको रूपमा काम गरेका छन्।
यो सिनेमा अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको हो र तेलुगु र हिन्दी भाषामा पनि रिलिजको तयारी भइरहेको छ।
