एक महिनामै सकियो ‘मितज्यू’को छायांकन, जेठ १५ बाट प्रदर्शनमा आउने तयारी

0 Shares

काठमाडौं । निर्देशक अनिल बुढा मगरले आफ्नो नयाँ फिल्म मितज्यूको छायांकन एक महिनामै सम्पन्न गरेका छन्। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै सुरु गरिएको फिल्मको छायांकन निर्धारित समयमै सकिएको हो।

निर्माता **जनक घर्ती मगर**का अनुसार कलाकार र प्राविधिक टोलीबीचको राम्रो समन्वयका कारण छायांकन सहज रूपमा सम्पन्न भयो। उनका अनुसार फिल्म सामाजिक कथावस्तुमा आधारित छ।

दाङ र रोल्पाका विभिन्न स्थानमा खिचिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहनेछ। यही फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।

निर्देशक अनिल बुढा मगरका अनुसार छायांकन प्रक्रिया रमाइलो र ऊर्जावान वातावरणमा सम्पन्न भयो। सबै पक्षको संयुक्त प्रयासले छोटो समयमा फिल्म खिच्न सम्भव भएको उनले बताए। ‘मितज्यू’ निर्देशक मगरको दोस्रो फिल्म हो। यसअघि उनले निर्देशन गरेको फिल्म घरज्वाइँ सफल भएको थियो।

फिल्मको प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) हुन् भने मुख्य सहायक निर्देशक फिरोज खड्का छन्। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्री, सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे तथा कार्यशाला भोलाराज सापकोटाले सम्हालेका छन्।

यसैगरी, फिल्ममा द्वन्द्व निर्देशन प्रभात विष्टको रहेको छ भने साउन्ड डिजाइन नवीन श्रेष्ठले गरेका छन्। संगीत श्रीकृष्ण बम मल्लको रहनेछ। फिल्मका गीतमा श्रीकृष्ण बम मल्ल, मेलिन राई र लक्ष्मी मल्लको स्वर समेटिएको छ। फिल्म जेठ १५ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।

सम्बन्धित समाचार

सबै