धनकुटाबाट सुरु भयो ‘कार्की साइँला’को छायांकन

0 Shares

काठमाडौं । निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुन लागेको फिल्म कार्की साइँलाको छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारदेखि धनकुटाबाट फिल्म खिचाइ थालिएको जानकारी दिएको छ।

छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायत कलाकार सहभागी भइसकेका छन्।

निर्देशक बस्नेतका अनुसार फिल्म एक महिनाको सेड्युलमा छायांकन गरिनेछ। फिल्मको छायांकन धनकुटासँगै बराहक्षेत्र र चतराका विभिन्न स्थानमा हुनेछ।

निर्माण पक्षका अनुसार फिल्ममा अभिनेता जितु नेपालको जोडीका रूपमा प्रियना आचार्य देखिनेछिन्। यसअघि प्रियना फिल्म झरिपछिको इन्द्रेणीमा अभिनय गरेकी थिइन्। टेलिश्रृंखला सक्किगोनीबाट चर्चामा आएकी प्रियना र जितु नेपालको यो पहिलो सहकार्य हो।

कर्णबहादुर फिल्मस् प्रालीको ब्यानरमा निर्माण भइरहेको यस फिल्मका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङको प्रस्तुति रहेको छ। मुख्य सहायक निर्देशक रोजल थापा, छायाकार डम्बर राई रहेका छन्। फिल्मको द्वन्द्व निर्देशन किरण दाहालले गरेका छन् भने संगीत दिप्सन लिम्बुको रहनेछ। प्रोडक्सनको जिम्मेवारी सिबी भण्डारीले सम्हालेका छन्।

फिल्मको प्रदर्शन मिति छायांकन सम्पन्न भएपछि तोक्ने निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै