‘लालिमा’ बन्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की

0 Shares

काठमाडौं । फागुन २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म लालिमामा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा देखिँदै छन्। फिल्ममा उनले यौनकर्मी ‘लालिमा’को चुनौतीपूर्ण चरित्र निर्वाह गरेकी छन्।

थिएटर पृष्ठभूमिबाट फिल्ममा आएकी रोश्नीका लागि यो पहिलो पटक यौनकर्मीको भूमिका हो। पात्रलाई विश्वसनीय बनाउन उनले गहिरो तयारी गरेको खुलासा गरेकी छन्। यौनकर्मीहरू प्रायः गोप्य रूपमा आफ्नो पेसामा संलग्न हुने भएकाले उनीसँग प्रत्यक्ष चिनजान थिएन। तर पात्र निर्माणका लागि उनीहरूसँग भेटघाट र संवाद आवश्यक रहेको रोश्नी बताउँछिन्।

उनका अनुसार पात्रको सन्दर्भ (रिफ्रेन्स) बुझ्न यौनकर्मीहरू भेट्नु अनिवार्यजस्तै थियो। “यौनकर्मी मैले चिनेको थिइनँ। आफूलाई यौनकर्मी भनेर खुलाउने को नै हुन्छ र? तर पात्र बुझ्न उहाँहरूसँग भेट्नैपर्थ्यो,” रोश्नी भन्छिन्।

फिल्म यौनकर्मीको जीवनभन्दा पनि उनीहरूको मानसिक अवस्था र पीडामा केन्द्रित रहेको उनको भनाइ छ। “नेपाली समाजमा रहेका यौनकर्मीको मानसिकता के छ भन्ने बुझ्न उहाँहरूसँग प्रत्यक्ष संवाद आवश्यक थियो,” उनले भनिन्।

रोश्नीका अनुसार निर्माण टिमको सहयोगमा सम्पर्कमा आएका करिब १० जना यौनकर्मीसँग उनले कुराकानी गरिन्। ती भेटघाटले पात्र निर्माणमा ठूलो सहयोग पुगेको उनको अनुभव छ। “उहाँहरूले आफ्ना समस्या, पीडा र मनोदशा खुलेर सुनाउनुभयो, जसले मलाई पात्रमा प्रवेश गर्न मद्दत गर्‍यो,” उनले भनिन्।

उनका अनुसार भेटिएका यौनकर्मीहरू कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्मका थिए। अधिकांश आर्थिक समस्याकै कारण यो पेसामा आएको तथ्य उनले बुझिन्। “किशोरीदेखि अधवैँश उमेरसम्मका महिलाहरू आर्थिक बाध्यताले यो पेसामा आएको पाएँ,” रोश्नीले भनिन्।

धेरै यौनकर्मीहरूको प्रतिनिधि आवाज बनेर पर्दामा उनीहरूको मानसिकता र पीडा प्रस्तुत गर्न पाएकामा आफू सन्तुष्ट रहेको उनले बताइन्। “कलाकारको रूपमा म उहाँहरूको आवाज बनेकी छु। कम्तीमा पनि उहाँहरूको कथा र मानसिकता पर्दामा उतार्ने प्रयास गरेकी छु,” रोश्नीको भनाइ छ।

सम्बन्धित समाचार

सबै