अनमोल केसीको ‘जेरी अन टप’ भारतभर रिलिज हुने

0 Shares

काठमाडौं। स्टार अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक व्यापार गर्न सफल नेपाली फिल्म जेरी अन टप भारतभर प्रदर्शन हुने भएको छ। निर्माण पक्षका अनुसार फिल्म फेब्रुअरी २७ गते शुक्रबारदेखि भारतका विभिन्न शहरहरूमा रिलिज हुनेछ, जसले भारतमा बसोबास गर्ने नेपाली समुदाय र नेपाली भाषी दर्शकलाई लक्षित गरेको छ।

फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकाता लगायत नेपाली भाषी दर्शकको उल्लेख्य बसोबास भएका अन्य शहरहरूमा वक्सअफिस प्रदर्शन हुनेछ। भारतका विभिन्न सिनेमा चेनहरूले फिल्मको अग्रीम बुकिङ पनि खुला गरिसकेका छन्।

रिलिजको पूर्वसन्ध्यामा फेब्रुअरी २६ मा गान्तोकमा प्रिमियर शो आयोजना गरिने छ। उक्त कार्यक्रममा अनमोल केसी, भुवन केसी, जसिता गुरुङसहित फिल्मका कास्ट एण्ड क्रू उपस्थित हुनेछन्। कार्यक्रममा चर्चित गायक कालिप्रसाद बाँस्कोटाको विशेष प्रस्तुति रहने निर्माता सरोज न्यौपानेले जानकारी दिए। फिल्म युनिट हाल सिक्किम पुगिसकेको छ।

सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ सगरमाथा आरोहणको साहसिक कथामा आधारित छ र प्रेम, सम्बन्ध तथा युवापुस्ताको भावनात्मक यात्रालाई केन्द्रमा राखेको छ।

निर्माण टिमको अपेक्षा अनुसार भारतका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुँदा नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारमा यो फिल्मले महत्वपूर्ण भूमिका खेल्नेछ। गत असोज अन्तिम साता नेपालसहित अन्य दर्जन बढी देशमा रिलिज भएको यस फिल्मले विश्वव्यापी रूपमा १७ करोडभन्दा बढी कलेक्सन गरिसकेको थियो। अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी र उषा खड्गी फिल्मका प्रमुख कलाकार हुन्। भारत रिलिजको व्यवस्थापन असली प्रोडक्सनले गरेको छ।

सम्बन्धित समाचार

सबै