काठमाडौं — चुनावी माहोलका कारण फिल्मी गतिविधि प्रायः ठप्प रहेको समयमा लालिमा को ट्रेलर सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ।
शनिबार सार्वजनिक गरिएको ट्रेलर युट्युबको फिल्म श्रेणीअन्तर्गत ट्रेन्डिङ नम्बर ५ मा पर्न सफल भएको हो, जसले दर्शकको चासो स्पष्ट संकेत गरेको छ।
लेखक तथा निर्देशक रोशन मिराज ले यौनकर्मीहरूको वास्तविक जीवन, बाध्यता र मानसिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यले फिल्म निर्माण गरेका हुन्। फिल्मको केन्द्रमा नायिका रोश्नी कार्की छिन्, जसले ‘लालिमा’ नामकी यौनकर्मीको भूमिका निर्वाह गरेकी छन्।
फिल्ममा नायक जीवन भट्टराई सँगै उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्। ट्रेलरमा सबै पात्रको झलक देख्न सकिन्छ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर फागुन २९ मा फिल्म प्रदर्शनमा आउँदैछ। ट्रेलरले लालिमा र जीवनबीचको प्रेमसम्बन्ध, यौनकर्मका कारण भोग्नुपरेका मानसिक द्वन्द्व र जीवनका उतारचढावलाई संकेत गरेको छ। ट्रेलरको अन्त्यतिर लालिमा गहिरो मानसिक समस्यामा फसेको देखिन्छ।
नायिका रोश्नी कार्कीका अनुसार, “हाम्रो फिल्मले यौनकर्मीहरूले भोग्ने मानसिक समस्या, पृष्ठभूमि, बाध्यता र उनीहरूको मनोदशालाई गहिरो रूपमा प्रस्तुत गर्न खोजेको छ।”
नायिका उषा रजक फिल्ममा बोल्न नसक्ने फरक क्षमताकी महिलाको भूमिकामा देखिएकी छन्। निर्माण पक्षका अनुसार उनी लालिमाकी आमाको भूमिकामा प्रस्तुत भएकी हुन्, जसले कथालाई थप भावनात्मक बनाएको छ।
ट्रेलरले यौनकर्ममा संलग्न लालिमाको बच्चा जन्मिएको घटनामार्फत् कथाप्रति थप सस्पेन्स सिर्जना गरेको छ।
फेथ आस्था को प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। फिल्मको वितरण नेसनल सिने ग्रुप नेपाल ले गर्दैछ।