काठमाडौं — आगामी वैशाख ११ गते प्रदर्शनमा आउने परालको आगो को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार निर्माण टिमले सार्वजनिक गरेको पोस्टरले रहस्य, मनोवैज्ञानिक तनाव र सामाजिक द्वन्द्वको संकेत दिएको छ।
पोस्टरमा मुख्य कलाकार सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत गम्भीर भावभंगिमामा देखिएका छन्। सुहानाको सिउँदोमा सिन्दुर र निधारमा टीका भए पनि अनुहारमा खुशीको अभाव झल्किन्छ। यता प्रकाश सपुत घुम ओडेर रसिला आँखा पार्दै देखिन्छन् भने प्रकाश र सौगात दुवैको अनुहारमा पीडा र भावनात्मक द्वन्द्व झल्किएको छ।
पोस्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा ‘परालको आगो’ जस्तै सानो कारणले ठूला परिणाम निम्त्याउने विषयवस्तुमा केन्द्रित हुनसक्ने संकेत गर्छ। ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ।
लक्ष्मण सुनार को निर्देशनमा बनेको फिल्ममा सौगात, प्रकाश र सुहानासहित सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बाँनिया लगायत कलाकारको अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि. को निर्माणमा बनेको फिल्मका निर्माता सुशील पोखरेल हुन्। कथा तथा लेखन सुशील देवकोटाले गरेका छन्। छायांकन संकल्प भुजेल, सम्पादन मिलन श्रेष्ठ र नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।
फिल्ममा संगीत शान्ती ठटाल, सत्य–स्वरुप र प्रकाश सपुतको रहेको छ भने गीत मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्। वितरण आर फिल्म्स ले गर्नेछ भने ओएसआरले ओटीटी अधिकार लिइसकेको छ।
यो कथा मूलतः नासो कथा संग्रहमा समावेश कथामा आधारित हो, जसलाई यसअघि करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बा ले पनि फिल्मका रूपमा रूपान्तरण गरेका थिए।