यौनकर्मीप्रतिको दृष्टिकोण र वास्तविकताको खाडल पुर्न ‘लालिमा’

0 Shares

यौनकर्मीहरूको वास्तविक जीवन, पीडा र समाजको दृष्टिकोणबीचको दूरी देखाउने उद्देश्यले फिल्म ‘लालिमा’ निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।

काठमाडौंको हात्तिसारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्देशक रोसन मिराजले यौनकर्मीहरूसँग करिब दुई दशकदेखि प्रत्यक्ष काम गर्दै आएको अनुभवका आधारमा यो फिल्म निर्माण गरिएको बताए।

उनका अनुसार सुरुमा यौनकर्मीहरूको जीवनबारे डकुमेन्ट्री बनाउने योजना थियो। तर, पहिचान खुल्ने डरका कारण उनीहरू क्यामेरामा देखिन तयार नभएपछि कलाकारमार्फत कथा प्रस्तुत गर्ने निर्णय गरिएको हो।

निर्देशक मिराजले भने, “हामी २० वर्षदेखि यौनकर्मीहरूसँग प्रत्यक्ष रूपमा काम गर्दै आएका छौं। डकुमेन्ट्री बनाउन खोज्दा धेरैले आफ्नो पहिचान खुल्ने डरले पर्दामा देखिन मानेनन्। तर, फिल्ममार्फत कथा सुनाउने प्रस्ताव राखेपछि उनीहरू आफ्नो अवस्था, समस्या र पीडाबारे खुल्न तयार हुनुभयो।”

उनका अनुसार समाजले यौनकर्मीप्रति राख्ने धारणा र उनीहरूको वास्तविक अवस्थाबीच रहेको ठूलो खाडललाई उजागर गर्ने उद्देश्यले ‘लालिमा’ निर्माण गरिएको हो।

फिल्मकी नायिका उषा रजकले निर्माण टिम लामो समयदेखि यौनकर्मीहरूसँग प्रत्यक्ष रूपमा काम गरिरहेको अनुभवका कारण आफू यस परियोजनामा जोडिएको बताइन्।

उनले भनिन्, “कसैको पीडालाई फिल्म बनाउने अधिकार सबैलाई हुँदैन जस्तो लाग्छ। तर, यो टिमले २० वर्षदेखि यौनकर्मीहरूसँग काम गरेको छ र उनीहरूको दुःख–पीडामा साथ दिएको छ। करिब तीन हजार यौनकर्मीहरूसँग काम गरेको अनुभवका कारण उहाँहरूलाई यो कथा भन्न अधिकार छ जस्तो लाग्यो, त्यसैले म यो फिल्ममा काम गर्न तयार भएँ।”

फिल्मकी अर्की मुख्य कलाकार रोश्नी कार्कीले समाजले यौनकर्मीलाई प्रायः मानवको दर्जासमेत नदिने वास्तविकता आफूले फिल्ममार्फत बुझ्ने अवसर पाएको बताइन्।

उनले भनिन्, “समाजले यौनकर्मीलाई मानवको रूपमा समेत स्वीकार गर्न हिच्किचाउँछ। तर, उनीहरू यो पेशामा किन आउँछन् भन्ने कारण निकै पीडादायी हुन्छ। उनीहरूको आवाज बन्ने उद्देश्यले म यो फिल्ममा जोडिएकी हुँ।”

फेथ आस्थाको प्रस्तुतिमा बनेको फिल्म ‘लालिमा’मा रोश्नी कार्की, उषा रजक, जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् भने नेसनल सिने ग्रुप नेपालले वितरण गर्नेछ। फिल्म फागुन २९ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै