निफको तयारी तीव्र: ‘प्री–इभेन्ट’मा महिला निर्देशकका अनुभव र बहस

0 Shares

काठमाडौं – आगामी चैत १९ देखि २३ गतेसम्म आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)को नवौं संस्करणको तयारी तीव्र गतिमा अघि बढिरहेको छ।

महोत्सवअघि विभिन्न कार्यक्रममार्फत वातावरण बनाउन निफ अहिले ‘प्री–इभेन्ट’ चरणमा प्रवेश गरेको छ। यसअन्तर्गत फिल्मसँग सम्बन्धित व्यक्तित्वहरूसँग अन्तर्क्रिया कार्यक्रमहरू आयोजना भइरहेका छन्।

बिहीबार काठमाडौंको नक्सालस्थित कान्तिपुर थिएटरमा ‘हर सिनेमा, हर भोइस’ शीर्षकमा तीन महिला निर्देशक समुन्द्र भट्ट, उषा रजक र संगीता श्रेष्ठसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो।

निफका अध्यक्ष केपी पाठकका अनुसार नेपाली फिल्म क्षेत्रमा महिला निर्देशकहरूले भोग्नुपरेका चुनौतीहरू सार्वजनिक बहसमा ल्याउन कार्यक्रम आयोजना गरिएको हो।

उनले भने, “पुरुषप्रधान भनिने नेपाली फिल्म क्षेत्रमा महिला निर्देशकहरूले लिङ्गकै कारण कस्ता समस्या भोग्छन् भन्ने कुरा उनीहरूबाटै सुनाउने उद्देश्य हो। उनीहरूको आवाज बहसमा विकसित होस् भन्ने चाहना छ।”

कार्यक्रममा सहभागी तीन निर्देशकहरूले फिल्म निर्माणका क्रममा महिला भएकै कारण आफूहरूले भोगेका अपमान र कठिनाइका अनुभव साझा गरे।

निर्देशक संगीता श्रेष्ठले महिला निर्देशकहरूको बौद्धिकता र रचनात्मक क्षमताको उचित कदर नहुने वास्तविकता रहेको बताइन्।

उनले भनिन्, “फिल्म वा भिडियो तयार हुन्छ, तर त्यसको जस महिला निर्देशकले पाउँदैनन्। ‘क्यामेराम्यानले खिचिदियो होला, सम्पादकले तयार गर्‍यो होला’ भन्ने टिप्पणी सुन्नुपर्छ, जसले महिला निर्देशकको क्षमतालाई शून्यमा झार्ने काम गर्छ।”

निर्देशक समुन्द्र भट्टले पनि छायांकनका क्रममा महिला भएकै कारण आफूलाई निर्देशकको हैसियत नदिइएको अनुभव सुनाइन्।

उनका अनुसार एक फिल्मको सुटिङ सकिएपछि निर्माता र क्यामेराम्यानले अनुमति बिना नै अर्को पुरुष निर्देशक ल्याएर बेड सिन खिचेका थिए, जबकि उक्त फिल्मको निर्देशक उनी स्वयं थिइन्।

यसको विरोध गर्दा आफूलाई बदनाम गराउने प्रयाससमेत भएको उनले बताइन्।

भट्टले अर्को अनुभव सुनाउँदै भनिन्, “एक भिडियो सम्पादकले ‘एक साता घर गएर सुत्नू, बुहारी मान्छे, म आफैँ फिल्म सम्पादन गर्छु’ भनेका थिए। यसले रचनात्मक अधिकार र पदीय मर्यादाको सम्मान नगरेको देखाउँछ।”

निर्देशक उषा रजकका अनुसार महिला निर्देशकहरूलाई बजार र लगानीकर्ताबाट विश्वास प्राप्त गर्न अझै कठिन छ।

उनले भनिन्, “महिला निर्देशकलाई बजारले पत्याउँदैन। स्पोन्सर र लगानीकर्ता भेट्न निकै गाह्रो हुन्छ।”

यसै सन्दर्भमा समुन्द्र भट्टले बजारमा महिला निर्देशकका परियोजनामा लगानी गर्न इच्छुक निर्माता कम हुने अनुभव सुनाइन्।

निफका विशेष कार्यक्रम

महोत्सवका क्रममा ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रम आयोजना गरिनेछ, जसले लेखकहरूलाई आफ्ना कथा निर्मातासामु प्रस्तुत गर्ने अवसर दिनेछ।

अध्यक्ष पाठकका अनुसार यो कार्यक्रम “निर्माताको खोजीमा रहेका लेखकहरूका लागि अवसर” बन्ने अपेक्षा गरिएको छ।

यो कार्यक्रम निफको तेस्रो दिन चैत २१ गते आयोजना हुनेछ। सहभागी हुन इच्छुक लेखकहरूले चैत ६ गतेभित्र आवेदन दिनुपर्नेछ।

त्यस्तै, युवालाई फिल्म महोत्सवसँग जोड्ने उद्देश्यले ‘फ्रेम योर फ्युचर’ शीर्षकको प्रतियोगिता पनि ल्याइएको छ।

यस प्रतियोगितामा सहभागी हुन आफ्नै कथामा आधारित दुई मिनेटको भिडियो बनाउनुपर्नेछ। प्रतियोगितामा विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन चैत ११ गतेसम्म आवेदन दिन सकिने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

सबै