गुरु प्रसाद मैनाली लिखित ‘परालको आगो’कथामा बनेको सिनेमाको टिजर यस्तो बन्यो

0 Shares

निर्माता सुशील पोखरेलको लगानीमा बनेको फिल्म ‘परालको आगो’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले ओएसआर युट्युब च्यानलमार्फत टिजर रिलिज गरेको हो।

सार्वजनिक टिजरमा श्रीमान–श्रीमतीबीच हुने मनमुटाव र झगडालाई केन्द्रमा राखिएको छ। फिल्ममा प्रकाश सपुत र सुहाना थापा श्रीमान–श्रीमतीको भूमिकामा देखिएका छन्। टिजरअनुसार पधेँरोबाट पानी लिएर अबेला घर फर्किएको निहुँमा श्रीमानले श्रीमतीमाथि हात उठाउने दृश्य देखाइएको छ।

झगडा छुट्याउन छिमेकीको भूमिकामा रहेका सौगात मल्ल र उनकी श्रीमती आउँदा प्रकाश सपुतले ‘अर्काको लोग्नेस्वास्नीको झगडामा नपरेकै राम्रो’ भन्ने संवाद बोल्ने दृश्यले टिजरलाई थप प्रभावशाली बनाएको छ।

ग्रामीण परिवेश, पहाडी पृष्ठभूमि र परम्परागत जीवनशैलीलाई समेट्दै नेपाली समाजका यथार्थ घटनालाई फिल्मले प्रस्तुत गर्न खोजेको संकेत टिजरले दिएको छ। टिजरमा मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र सौगात मल्ललाई विशेष रूपमा देखाइएको छ।

यसअघि नारी दिवसको अवसर पारेर निर्माण टिमले नेपाली गाउँघरको मौलिकता झल्काउने पोस्टर सार्वजनिक गरेको थियो।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सुशील पोखरेलको लगानी रहेको फिल्मको कथा तथा पटकथा सुशील देवकोटाले लेखेका छन्।

फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन, मिलन श्रेष्ठको सम्पादन र कनाल कँवरको रंग संयोजन रहेको छ। भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्। मिक्सिङ मुकेश शाहको छ भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।

फिल्मको पाश्र्व संगीत किरण तुलाधरको रहेको छ। संगीत शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले दिएका छन्। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्।

फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशक करण बहादुर साउद हुन्। सुलभी पोखरेल र सत्यम पोखरेल सह–निर्माताको रूपमा रहेका छन्। फिल्मको नेपालभर वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

गुरु प्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथा यसअघि करिब ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्मका रूपमा निर्माण गरेका थिए। सोही कथालाई मूल भाव नमारिकन नयाँ ढंगले पुनः निर्माण गरिएको निर्माता पोखरेलले बताएका छन्।

यो फिल्म आगामी बैशाख ११ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार

सबै