अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ। सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट फिल्मको सुटिङ सुरु गरिएको हो।
यस फिल्मको निर्माण घोषणा गत फागुन ३ गते महाशिवरात्रिको अवसरमा गरिएको थियो। ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखा थापा करिब आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। रेखाले नेपाली रजतपटमा प्रवेआ गरेको २५ वर्ष पूरा भइसकेको छ । २०५७ हालमा हिरो सिनेमाबाट पर्दा अगाडी एक्सनकट सुनिरहेकी रेखा पहिलोपटक कुनै सिनेमामा पहिलोपटक फ्रेममा नभई पुर्णरुपमा बाहिर बसेर आफूलाई प्रस्तुत गर्ने संयोगमा छिन्।
यसअघि आफ्नै ब्यानर ‘रेखा फिल्म्स’बाट फिल्म निर्माण गर्दै आएकी उनले यसपटक भने ‘दिया एण्ड अमु फिल्म्स’को ब्यानरमा काम गरिरहेकी छन्।
फिल्ममा नेपाली कला क्षेत्रका वरिष्ठदेखि समकालीन चर्चित कलाकारहरूको टोली देखिनेछ। मदनकृष्ण श्रेष्ठ र लामो समयपछि फिल्ममा फर्किएका दिल श्रेष्ठ मुख्य भूमिकामा छन्।
फिल्मको अर्को विशेष आकर्षण भनेको तीन पूर्व मिस नेपालहरूको उपस्थिती हो। अभिनेत्री सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह (मिस नेपाल इन्टरनेसनल)ले प्रमुख भूमिका निर्वाह गर्दैछन्।
यसअघि निर्माण टिमले फिल्म घोषणा गर्दा दुईवटा पोस्टर सार्वजनिक गरेको थियो।

‘दिया एण्ड अमु फिल्म्स’को ब्यानरमा निर्माण हुने फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
फिल्मका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन्। सुमधुर प्रेम कथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने फिल्मको कथा ध्रुव लम्सालले लेखेका हुन्। उनी पनि करिब एक दशकपछि फिल्म लेखनमा फर्किएका हुन्।
प्रोडक्सन हेडसीएम भारद्वाज (सुवेदी)का अनुसार फिल्मको छायांकन फागुनको दोस्रो साताबाट सुरु गर्ने योजना भए पनि चुनाव र अन्य परिस्थितिका कारण केही दिन ढिलाइ भएको हो। फिल्मको छायांकन काठमाडौं आसपासका विभिन्न स्थानमा करिब एक महिनासम्म चल्नेछ।
फिल्मका डिओपी सुदीप बराल हुन् भने अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशकका रूपमा छन्। फिल्ममा राजन घिमिरे फिल्म कोअर्डिनेटर छन्। साथै प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन र प्रिया कार्कीको मेकअप रहनेछ।
निर्माण टिमले फिल्मलाई आगामी वर्षको तीजको अवसर पारेर देशभर प्रदर्शन गर्ने लक्ष्य राखेको छ।