काठमाडौं । बदलाको कथामा आधारित नेपाली कथानक चलचित्र ‘मुक्तिपुर’ मंगलबार शुभमुहूर्त गर्दै औपचारिक रूपमा छायांकनमा गएको छ। काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्क्रिप्ट पूजा गर्दै फिल्मको निर्माण कार्य सुरु गरिएको हो।
निर्देशक सुनिल पाण्डेको निर्देशनमा बन्ने यस चलचित्र साहिबा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो भने एभरेष्ट फिल्म एकेडेमी सह–निर्माणमा जोडिएको छ। विभिन्न छोटा चलचित्र तथा वृत्तचित्र निर्देशनको अनुभव संगालेका युवा निर्देशक पाण्डेका लागि ‘मुक्तिपुर’ ठुलोपर्दाको डेब्यू निर्देशन हुनेछ। फिल्मको कथा पनि स्वयं निर्देशक पाण्डेकै रहेको छ।
पछिल्लो एक दशकदेखि अभिनय, निर्देशन, सम्पादन, छायांकन तथा ध्वनि सम्बन्धी प्रशिक्षण प्रदान गर्दै आएको एभरेष्ट फिल्म एकेडेमीले पहिलो पटक चलचित्र निर्माणमा हात हाल्दै ‘मुक्तिपुर’ मार्फत आफ्नो उपस्थिति दर्ज गराउन लागेको हो।
फिल्ममा विजय राजवंशी र रोशन पासवान निर्माता रहेका छन् भने विशाल श्रेष्ठ कार्यकारी निर्माता छन्। केशव गौतम सह–निर्माता रहेको यस चलचित्रमा सञ्जय गुरुङ र सुरज चौधरी लाइन प्रोड्युसरका रूपमा छन्। सम्राट बस्नेत द्वन्द्व निर्देशक, सरद महतो छायांकन निर्देशक, अकी थाक्पा कला निर्देशक तथा रुपक प्रताप अधिकारी प्रोडक्सन हेडको जिम्मेवारीमा छन्।
क्राइम–रिभेञ्ज जनरामा निर्माण हुन लागेको ‘मुक्तिपुर’ ले एक परिवारको जीवनमा घट्ने गम्भीर घटनापछि उत्पन्न परिस्थितिमा पात्रले भोग्ने संघर्ष र सफलताको कथालाई पर्दामा प्रस्तुत गर्ने निर्देशक पाण्डेले बताए।
फिल्ममा नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह र एवनराज उप्रेती प्रमुख भूमिकामा देखिनेछन्। साथै आकृति बुढाथोकीले यस चलचित्रबाट अभिनेत्रीका रूपमा ठुलोपर्दामा डेब्यू गर्ने भएकी छन्। भक्तपुर घर भएकी बुढाथोकीले केही म्यूजिक भिडियो तथा नाटकहरुमा काम गरेकी छन्।
अभिनेता नाजिर हुसैनले ‘मुक्तिपुर’ आफ्नो अभिनय यात्राको महत्वपूर्ण परियोजना हुने विश्वास व्यक्त गरे। उनले फरक कथा र शैलीमार्फत दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा राखेका छन्।
त्यस्तै म्युजिक भिडियो अभिनयको अनुभव बोकेकी आकृति बुढाथोकीले ठुलोपर्दामा डेब्यू गर्न पाउँदा उत्साहित रहेको बताउँदै अनुभवी निर्माण टिमसँग काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको प्रतिक्रिया दिइन्।
फिल्ममा घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा, अनामिका लामिछाने, विकास खनाल, रुपेश लामा, आयन परियार, श्रवण रम्तेल, भोला शाह, सफल, गोपाल महतरा, विमल यादव, ओजस्वी विक्रम विष्ट, सुदिप तिमिल्सिना र प्रविणकुमार चौधरी लगायतका कलाकारको पनि अभिनय रहनेछ।
४० दिनको छायांकन तालिकासहित फ्लोरमा गएको फिल्मको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन। कार्यकारी निर्माता विशाल श्रेष्ठका अनुसार छायांकन सम्पन्न भएको करिब छ महिनाभित्र फिल्म प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।