बलिउड अभिनेता सलमान खान अभिनीत बहुप्रतिक्षित युद्धप्रधान फिल्म ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन गरिएको छ। अब यो फिल्म ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ शीर्षकमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
फिल्मको नयाँ शीर्षकसँगै निर्माण टिमले नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ। यसअघि ‘ब्याटल अफ गलवान’ नामबाट प्रचार गरिएको यो फिल्म अब नयाँ शीर्षकमार्फत दर्शकमाझ आउने भएको हो।
किन बदलियो फिल्मको नाम?
समाचारहरूका अनुसार पुरानो शीर्षकले फिल्मको कथा केवल गलवान उपत्यकामा भएको युद्ध मा मात्र सीमित भएको सन्देश दिन सक्ने भएकाले निर्माण टिमले शीर्षक परिवर्तन गर्ने निर्णय गरेको हो। वास्तवमा फिल्ममा सैनिकहरूको व्यक्तिगत संघर्ष, परिवारको त्याग र देशभक्तिको भावनालाई पनि समेटिएको छ, जसलाई नयाँ शीर्षकले राम्रोसँग प्रतिनिधित्व गर्ने विश्वास गरिएको छ।
यसका साथै २०२० मा भारत–चीनबीच भएको गलवान उपत्यका संघर्ष मा आधारित कथावस्तुले केही अन्तर्राष्ट्रिय विवादसमेत निम्त्याएपछि पनि शीर्षक परिवर्तनलाई रणनीतिक कदमका रूपमा हेरिएको छ।
के भन्छन् निर्देशक ?
फिल्मका निर्देशक अपूर्व लाखिया ले शीर्षक परिवर्तन अचानक नभएको बताएका छन्। उनका अनुसार निर्माणको सुरुदेखि नै फिल्मका लागि ‘ब्याटल अफ गलवान’ र ‘मातृभूमि’ दुवै शीर्षक दर्ता गरिएको थियो। फिल्मको निर्माण प्रक्रियामा जाँदा यो केवल एउटा युद्धको कथा नभई देश, सैनिक र उनीहरूको बलिदानको कथा भएको महसुस भएपछि अन्ततः ‘मातृभूमि’ शीर्षक उपयुक्त ठहर गरिएको उनले बताएका छन्।
यो फिल्म २०२० मा भारत र चीनबीच लद्दाखको गलवान उपत्यकामा भएको भिडन्तबाट प्रेरित कथामा आधारित रहेको बताइएको छ। फिल्ममा सलमान खानसँगै चित्राङ्गदा सिंह लगायत कलाकारहरूको अभिनय रहनेछ।