काठमाडौं — निर्देशक मधुसुधन भट्टराईको नयाँ फिल्म “हामी तीन भाइ” को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत ट्रेलर रिलिज गर्दै फिल्मको कथावस्तु र भावनात्मक यात्रा दर्शकमाझ ल्याएको हो।
ट्रेलरमा एक गाउँका तीन दाजुभाइबीचको गहिरो सम्बन्ध र त्यसमा आउने उतारचढावलाई केन्द्रमा राखिएको छ। बाल्यकालदेखि नै अत्यन्त मिलेर हुर्किएका दाजुभाइहरू आमाबुबाको “कहिल्यै नछुट्नु” भन्ने शिक्षालाई आत्मसात गर्दै जीवन अगाडि बढाइरहेका हुन्छन्। उनीहरू खेतबारीदेखि दैनिक कामसम्म सधैं सँगै देखिन्छन्।
तर समयसँगै परिस्थिति बदलिन्छ। विशेषगरी विवाहपछि भाइहरूबीच अंशबण्डाको विषय उठ्न थालेपछि सम्बन्धमा दरार आउँछ। एकअर्काबाट कहिल्यै अलग नहुने वाचा गरेका दाजुभाइहरूबीच चिसोपना बढ्दै जान्छ।
कथालाई थप रोचक बनाउन ट्रेलरमा नक्कली बुबाको प्रवेश गराइएको छ, जहाँ दाजुको चुनौतीपछि भाइहरूले नक्कली बुबा ल्याउने प्रसंगले कमेडी र नाटकीयता दुवै थपेको छ। साथै, वर्तमान समाजमा देखिएको जग्गा प्लटिङ र आर्थिक लोभको विषयलाई पनि कथामा समेटिएको छ।
फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, जाहान्वी बस्नेत, फलित राई, आश्मा गिरी, राजाराम पौडेल, रविन्द्र झा लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। ट्रेलरले कमेडी शैलीमा मार्मिक पारिवारिक कथा प्रस्तुत गर्ने संकेत दिएको छ।
प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् भने त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका छन्।
फिल्म आगामी चैत १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।