‘लालिमा’को बालेनलाई खुला पत्र, मानवअधिकार सुनिश्चित गर्न माग

0 Shares

काठमाडौं — यौनकर्मी महिलाहरूको मानवअधिकार र न्यायको मुद्दा उठाउँदै आस्था-फेथ ले बालेन्द्र शाह (बालेन) लाई खुला पत्र लेखेको छ। संस्थाले उनलाई भावी प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्दै संवाद र नीतिगत सुधारको माग गरेको हो।

संस्थाकी कार्यकारी प्रमुख रिना लामा ले सार्वजनिक गरेको उक्त पत्रमा नेपालका लाखौँ यौनकर्मी महिलाहरूले भोगिरहेका हिंसा, विभेद र सामाजिक बहिष्कारका विषयलाई गम्भीर रूपमा उठाइएको छ।

आस्था-फेथले विगत दुई दशकदेखि यौनकर्मीहरूको स्वास्थ्य र अधिकारका क्षेत्रमा काम गर्दै आएको छ। सोही अनुभवका आधारमा निर्माण गरिएको फिल्म लालिमा हाल प्रदर्शनमा रहेको छ। संस्थाका अनुसार यो फिल्म केवल मनोरञ्जन नभई तीन हजारभन्दा बढी यौनकर्मीहरूको वास्तविक अनुभवमा आधारित सामूहिक दस्तावेज हो।

पत्रमा उल्लेख गरिएअनुसार, यौनकर्मीहरू दैनिक रूपमा दुर्व्यवहार र आधारभूत मानवअधिकारबाट वञ्चित भइरहेका छन्। उनीहरूको आवाज नीति निर्माणको बहसमा समेटिन नसकेको र समेटिँदा पनि गलत ढंगले प्रस्तुत गरिने गरिएकोमा चिन्ता व्यक्त गरिएको छ।

संस्थाले बालेन्द्र शाहलाई यौनकर्मीहरूको अवस्था सुधारका लागि संवादमा आउन आग्रह गर्दै उनीहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न नीतिगत पहल आवश्यक रहेको औंल्याएको छ।

पत्रको अन्त्यमा रिना लामाले समावेशी राष्ट्र निर्माणका लागि सीमान्तकृत समुदायको अधिकार संरक्षण अनिवार्य रहेको उल्लेख गर्दै राज्यले सबै नागरिकलाई समान रूपमा सम्मान गर्नुपर्ने धारणा राखेकी छन्।

यस खुला पत्रले सामाजिक न्याय र मानवअधिकारको क्षेत्रमा नयाँ बहस सुरु गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै