भ्वाइस एक्टिङ एण्ड डबिङ तालिम सम्पन्न, १७४ प्रशिक्षार्थी लाभान्वित

0 Shares

काठमाडौं — नेपाली चलचित्र क्षेत्रमा प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्र विकास बोर्ड द्वारा सञ्चालित तीन दिने उक्त तालिमले १७४ जना प्रशिक्षार्थीलाई सीपमूलक ज्ञान प्रदान गरेको छ।

अन्तर्राष्ट्रिय स्तरमा हलिउड र बलिउडका परियोजनामा अनुभव हासिल गरिसकेका भारतीय भ्वाइस विशेषज्ञ अमित देओन्दी को प्रमुख प्रशिक्षणमा सञ्चालन गरिएको तालिम निकै प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्।

तालिमका क्रममा सहभागीहरूले भ्वाइस एक्टिङको आधारभूत सिद्धान्तदेखि लिएर पात्रअनुसार आवाज परिवर्तन, संवाद अभिव्यक्ति, स्टुडियोमा डबिङ गर्ने प्रक्रिया तथा साउन्ड एडिटिङसम्मका विषयमा सैद्धान्तिक र प्रयोगात्मक दुवै ज्ञान प्राप्त गरेका थिए।

समापन समारोहमा दिनेश डिसी ले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय विस्तारका लागि आवाज र अभिनयको सशक्त संयोजन अपरिहार्य रहेको बताए।
उनका अनुसार, “भ्वाइस एक्टिङ र डबिङ केवल प्रविधि मात्र नभई अभिनयको आत्मा हो, जसले चलचित्रलाई जीवन दिन्छ।”

प्रमुख प्रशिक्षक अमित देओन्दी ले नेपाली कलाकारहरूको उत्साह र सम्भावनाको प्रशंसा गर्दै उचित प्रशिक्षण र निरन्तर अभ्यासले यस क्षेत्रलाई विश्वस्तरमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे।

बोर्डका अनुसार यस तालिमले नेपाली चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै भ्वाइस एक्टिङ र डबिङको गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै