डोल्पाका महिलाको कथा बोकेको ‘स्नो लियोपार्ड सिस्टर्स’ नेपालमा प्रिमियर

0 Shares

डकुमेन्ट्री फिल्म ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न भएको छ। बुधबार साँझ ललितपुरस्थित लबिम मलमा आयोजित विशेष प्रदर्शनमा नेपालीसँगै विदेशी दर्शकको पनि उल्लेख्य उपस्थिति देखिएको थियो।

हिमालयको दुर्गम क्षेत्र डोल्पामा आधारित यस फिल्मले दुई आदिवासी महिलाबीचको असम्भव तर शक्तिशाली मित्रताको कथा प्रस्तुत गर्छ। फिल्ममा स्थानीय हिमचितुवा संरक्षणकर्मी छिरिङ ल्हामु लामा र १७ वर्षीया तेन्जिन भुटी गुरुङबीचको सम्बन्ध र मार्गदर्शनको प्रेरणादायी यात्रा देखाइएको छ। उनीहरू दुबै जोखिमपूर्ण तर सुन्दर हिमाली भूगोल पार गर्दै संकटग्रस्त हिमचितुवाको खोजीमा निस्कन्छन्।

सोनम चोकी लामा, बेन आयर्स र एन्ड्रयू लिन्चद्वारा निर्देशित यस फिल्मले संरक्षण क्षेत्रमा महिला आवाजको सशक्त भूमिका उजागर गरेको छ। फिल्मले हिमचितुवा संरक्षणसँगै स्थानीय समुदायको जीवनयापन जोड्ने प्रयासलाई पनि प्रभावकारी रूपमा चित्रण गरेको छ।

डकुमेन्ट्रीले डोल्पामा हिमचितुवाको संख्या बढाउने र गोठालाहरूले बदला स्वरूप गर्ने हत्या अन्त्य गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ। साथै, फिल्ममार्फत विकास गरिएका अहिंसात्मक संरक्षण प्रविधिहरूले पशुधन सुरक्षा र स्थानीय जीविकोपार्जनलाई सन्तुलित बनाउने प्रयास गरिएको छ।

नेपाली फोटोग्राफर सोनम चोयकी लामाले आफ्नी दिदी छिरिङ ल्हामु लामासँग मिलेर सुरु गरेको हिमचितुवा संरक्षणको यात्रालाई पछि डकुमेन्ट्रीका रूपमा विकास गरिएको हो। यस परियोजनामा अन्तर्राष्ट्रिय अवार्ड विजेता फिल्ममेकरहरू बेन आयर्स र एन्ड्रयू लिन्च पनि जोडिँदा तीन महादेशमा फैलिएको सशक्त टिम निर्माण भएको थियो।

फिल्मको कथा बेन आयर्स र एन्ड्रयू लिन्चले लेखेका हुन् भने निर्माण इयान डेभिस, टोर्किल जोन्स, जोआना नतासेगारा र छिरिङ ल्हामु लामाले गरेका छन्। छायांकन सोनम चोयकी लामा, एन्ड्रयू लिन्च र रश स्टर्जेसले गरेका हुन् भने सम्पादन केटी ब्रायरको रहेको छ।

ओस्कार विजेता निर्देशक जोआना नतासेगारा र हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो कार्यकारी निर्माताको रूपमा संलग्न यस फिल्मले एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कार जितिसकेको छ।

सम्बन्धित समाचार

सबै