अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘एक मुठी बादल: माई सेयर अफ स्काई’को टिजर सार्वजनिक गरिएको छ। आँचलको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरलाई निर्माण टिमले विशेष उपहारका रूपमा प्रस्तुत गरेको हो।
टिजर अभिनेत्री आँचल शर्माले नै वाचन गरेको ‘पोम्पोईको फूल’ कवितामा आधारित छ, जसले फिल्मको भावनात्मक धरातललाई उजागर गर्छ। उक्त कवितासँगै टिजरले फिल्मका मुख्य कलाकारहरूलाई पनि परिचित गराएको छ।
फिल्मकी लेखक तथा निर्देशक सहारा शर्माका अनुसार यो कविता उनको बाल्यकालीन सम्झनासँग जोडिएको छ। उनले हजुरआमाबाट सुन्ने गरेको कविता समयसँगै बिर्सिइए पनि फिल्मको सम्पादनका क्रममा पुनः स्मृतिमा फर्किएको बताइन्। “यो त्यतिबेला फर्कियो जतिबेला फिल्मलाई यसको सबैभन्दा बढी आवश्यकता थियो,” सहाराले भनिन्, “त्यसपछि यो फिल्मको अभिन्न हिस्सा बन्यो।”
आँचल शर्माले यस फिल्मलाई आफ्नो करिअरकै विशेष प्रोजेक्टका रूपमा लिएकी छिन्। “अन्य फिल्ममा म पात्र निभाउँछु, तर ‘माइली’मा म आफैंलाई देख्छु। आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनु अत्यन्त सन्तोषजनक अनुभव हो,” उनले भनिन्।
फिल्ममा आँचलसँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ।
अभिमन्यु दीक्षितद्वारा निर्मित फिल्ममा निकुन श्रेष्ठ कार्यकारी निर्माता छन्। साथै, जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि निर्माण टोलीमा आबद्ध छन्।
फिल्ममा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन तथा अग्रणी ठकुरी झाको कला निर्देशन रहेको छ। भेषभूषा डिजाइन जानकी कडायत र मेकअप कीर्ति जोशीले सम्हालेका छन्।
महिला नेतृत्वमा बनेको यो फिल्म गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको सहकार्यमा निर्माण भएको हो। फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।