बसन्त–सुनितामीको नयाँ गीत ‘माया हिरिक्कै’मा यस्तो देखिए पल शाह

0 Shares

काठमाडौं — लोकप्रिय सर्जक तथा गायक बसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयमा आधारित गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ। सुनितामी परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले रिलिजसँगै सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

नवराज पन्तको शब्द रहेको यस गीतमा संगीत बसन्त थापाकै रहेको छ भने एरेन्ज श्यामश्वेत रसाइलीले गरेका छन्। लोकलयको मिठास र आधुनिक प्रस्तुतिको संयोजनले गीतलाई आकर्षक बनाएको देखिन्छ।

गम्भीर बिष्टको निर्देशनमा बनेको भिडियोमा लोकप्रिय नायक पल शाहको दमदार अभिनय देख्न सकिन्छ। पलसँगै गायिका सुनितामी परियार स्वयं पनि भिडियोमा देखिएकी छन्, जसले गीतलाई थप जीवन्त बनाएको छ।

पवन सुस्लिङको टिमले छायांकन गरेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् भने कोरियोग्राफी प्रशान्त मगरले गरेका छन्। भिडियोको दृश्य र नृत्य संयोजनले दर्शकलाई लोभ्याउने खालको बनेको छ।

गायिका सुनितामी परियारले आफ्ना नयाँ गीतप्रति दर्शक र स्रोताको राम्रो साथ मिल्ने विश्वास व्यक्त गरेकी छन्। वि.सं. २०६६ सालमा ‘भिरमा लर्क्यो खर’बाट सांगीतिक यात्रा सुरु गरेकी उनले अहिलेसम्म करिब ९ सय गीतमा स्वर दिइसकेकी छन्।

उनका यसअघिका ‘रुमाल साट्न पर्दैन’, ‘साइली रिमै’, ‘अभागी त म हुँ’, ‘ढुङ्गा जस्तो मन’ र ‘मेरो बुडाको के मिलेन’ जस्ता गीतहरू दर्शकमाझ निकै लोकप्रिय छन्।

सम्बन्धित समाचार

सबै