पोखरा — साहसिक पर्यटनका लागि परिचित पोखरामा अब मनोरञ्जनको क्षेत्रमा नयाँ आयाम थपिएको छ। फ्लाइ नेपाल इन्टरटेनमेन्टले अत्याधुनिक ‘१८ डी सिनेमा’ सञ्चालनमा ल्याउँदै दर्शकलाई अनौठो सिनेमाटिक अनुभव दिने तयारी गरेको हो।
पोखराको लेकसाइडस्थित डिज्नील्याण्ड क्षेत्रमा स्थापना गरिएको यो सिनेमा नेपालमै पहिलोपटक यस्तो प्रविधिसहित सञ्चालनमा आएको हो। यसअघि काठमाडौँमा सफल सञ्चालनपछि दोस्रो शाखाका रूपमा पोखरामा विस्तार गरिएको हो।
महानायक राजेश हमालले शुक्रबार एक विशेष समारोहबीच यसको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पोखराले अब फरक खालको मनोरञ्जन अनुभव पाउने बताए।
उनले भने, “पोखरा आफैंमा सुन्दर सहर हो, यहाँ धेरै चलचित्र छायांकन हुन्छन्। अब यो सिनेमा केवल मनोरञ्जन मात्र नभई नयाँ संसारको अनुभव पनि हो।” साथै, उनले आफ्नो करियरको तेस्रो फिल्म ‘देउकी’को छायांकन पोखरामै भएको सम्झना पनि सुनाए।
फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाका अनुसार काठमाडौँमा प्राप्त सफलतापछि पोखरामा यो सेवा विस्तार गरिएको हो। उनले पोखरामा प्रयोग गरिएको प्रविधि अझ उन्नत रहेको दाबी गरे।
यस ‘१८ डी सिनेमा’मा दर्शकले १० देखि ३० मिनेटसम्मका १७ फरक कथात्मक अनुभव लिन सक्नेछन्। विशेष कुरा, यसमा कुनै चश्मा वा हेडसेटको आवश्यकता पर्दैन, जसले सबै उमेर समूहका दर्शकलाई सहज रूपमा आकर्षित गर्ने अपेक्षा गरिएको छ।
कम्पनीका निर्देशक हिमाल थापाले यसले पोखरामा साहसिक अनुभवलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे। उनका अनुसार अब दर्शकले बाहिरी साहसिक गतिविधिसँगै भित्री अनुभव पनि उत्तिकै रोमाञ्चक रूपमा महसुस गर्न सक्नेछन्।
कार्यक्रममा महानायक हमालले उद्यमशीलता प्रवर्द्धनका लागि राज्यले नयाँ योजना ल्याउनुपर्ने धारणा राख्दै यस्ता नवप्रवर्तनले रोजगारी सिर्जनामा पनि योगदान पुर्याउने बताए।