निर्देशक तुलसी घिमिरेको बहुप्रतिक्षित फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित एक हलमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको यस गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अभिनेता अरुण क्षेत्री फिचर्ड छन्।
गीतमा निर्देशक तुलसी घिमिरेकै शब्द, वरिष्ठ संगीतकार रञ्जित सिंह गजमेरको संगीत रहेको छ भने भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ र अश्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। विशेष कुरा के भने, गीतमा अभिनेता विपिन कार्कीको र्यापले नयाँ स्वाद थपेको छ। कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।
निर्देशक घिमिरेका अनुसार, केही वर्षको अन्तरालपछि सशक्त कथावस्तु रोजेर यो फिल्म निर्माण गरिएको हो। “मनोरञ्जनसँगै सशक्त सन्देश दिने प्रयास गरेका छौं, यो गीतले त्यसको झल्को दिन्छ,” उनले बताए।
ग्रामीण परिवेशमा छायांकन गरिएको यो गीतमा गाउँको सौन्दर्यसँगै युवाहरूको विदेश पलायन, गाउँ खाली हुँदै गएको अवस्था र सहरभन्दा गाउँ नै उपयुक्त हुने सन्देश प्रस्तुत गरिएको छ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले घिमिरे परिवारको फिल्मप्रतिको समर्पणको प्रशंसा गरे। “तुलसी दाइको परिवारले फिल्ममै जीवन समर्पण गरेको छ, अब उहाँकी छोरी पञ्चमीको डेब्यूले यसलाई अझ विशेष बनाएको छ,” उनले भने।
फिल्म आगामी २०८३ वैशाख १ गते (नयाँ वर्ष) प्रदर्शनमा आउनेछ। फिल्मले पहाडी क्षेत्र खाली हुँदै जानुका सामाजिक–आर्थिक प्रभावलाई उजागर गर्नेछ।
यस फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारको अभिनय रहेको छ। साथै, निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई यही फिल्मबाट डेब्यू गराएका छन्।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्ममा प्रमोद प्रधानको छायांकन रहेको छ भने संगीत निर्देशन रञ्जित सिंह गजमेरले गरेका छन्। फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछन्।