नेपाली संगीतका चर्चित सर्जक हरि लम्साल अब निर्देशनमा प्रवेश गरेका छन् । उनले लेखन तथा निर्देशन गरेको नयाँ फिल्म ‘बा : एक योद्धा’ को सोमबारबाट औपचारिक छायांकन सुरु भएको छ ।
काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा धार्मिक विधिपूर्वक पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मले नेपाली समाजको भावनात्मक पाटोलाई उजागर गर्ने लक्ष्य राखेको छ ।
दर्जनौँ चर्चित गीतमार्फत स्थापित भइसकेका लम्सालले यही फिल्ममार्फत निर्देशकको रूपमा डेब्यु गर्दैछन् । कथा र पटकथा पनि स्वयं उनले तयार पारेका हुन्, जसले उनको निर्देशकीय क्षमताप्रति दर्शकमा चासो र उत्सुकता बढाएको छ ।
फिल्मको शीर्षक र पोस्टरले बुवाको त्याग, संघर्ष र जिम्मेवारीलाई ‘योद्धा’का रूपमा प्रस्तुत गर्ने संकेत गर्छ । विशेषगरी नेपाली परिवारमा बुबाको भूमिका र सन्तानका लागि उनले गर्ने संघर्षलाई कथाको केन्द्रमा राखिएको छ ।
फिल्ममा अनुभवी सिनेमेटोग्राफर शिवराम श्रेष्ठ को छायांकन रहनेछ । उनले यसअघि पूर्ण बहादुरको सारङ्गी, बोक्सीको घर र परान जस्ता सफल फिल्महरूमा काम गरिसकेका छन् ।
फिल्मका निर्माता वसन्त लम्साल हुन्, जसले यसअघि विपिन कार्की अभिनीत ‘कर्मा’ निर्माण गरेका थिए । मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन् ।
छायांकन सुरु भए पनि फिल्मका मुख्य कलाकारहरूको नाम भने अझै गोप्य राखिएको छ । निर्माण टिमले ‘सप्राइज’ दिने उद्देश्यले कलाकार सार्वजनिक नगरेको जनाएको छ ।
निर्माण पक्षका अनुसार सम्पूर्ण छायांकन सकिएपछि मात्र प्रदर्शन मिति घोषणा गरिनेछ ।