नेपालमा ‘धुरन्धर–२’को ५ दिने कमाइ ६.४० करोड, लगानी उठाउन अझै ११ करोड कमाउनुपर्ने

0 Shares

काठमाडौं । आदित्य धर निर्देशित बलिउड फिल्म धुरन्धर–२ ले नेपाली बक्सअफिसमा आक्रामक कमाइ गरेको छ ।

रणवीर सिंह स्टारर यस फिल्मले प्रदर्शनको पाँचौं दिनसम्म नेपालमा ६ करोड ४० लाख ६९ हजार ७४७ रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । यो तथ्यांक सोमबार बेलुका ५ बजेसम्मको हो ।

एड्भान्स टिकट बिक्रीको हिस्सा समेत यसै अवधिमा समेटिने भएकाले पाँच दिनको कुल व्यापार यही आसपास रहने अनुमान गरिएको छ । विश्वभर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले छोटो समयमै प्रभावशाली व्यापार देखाएको हो ।

पाँचौं दिन सोमबार केही शोहरूमा अकुपेन्सी घटेको देखिए पनि बेलुकी र रात्रीकालीन शोहरू भने अझै खचाखच भरिएका छन् । ओपनिङ सप्ताहन्तमा भने अवस्था झन् आक्रामक थियो— बिहानदेखि मध्यरातसम्मका अधिकांश शो हाउसफुल देखिएका थिए ।

केही दिनको झरीलाई समेत बेवास्ता गर्दै दर्शक हलसम्म पुगेका थिए, जसले फिल्मप्रतिको क्रेज स्पष्ट देखाएको छ । यद्यपि, फिल्मप्रति नेपाली दर्शकमाझ प्रतिक्रिया भने मिश्रित रहेको बताइएको छ ।

यसअघि ‘धुरन्धर’ को पहिलो भागले नेपालमा कम्तीमा १० करोड रुपैयाँ ग्रस कमाएको थियो, जसले सिक्वेलप्रति अपेक्षा अझ बढाएको छ ।

व्यापारिक हिसाबले हेर्दा, नेपालका लागि फिल्मको वितरण अधिकार नियोम फिल्म्स ले करिब २.५ देखि ३ करोड भारतीय रुपैयाँमा खरिद गरेको बताइन्छ । यस आधारमा लगानी उठाउन फिल्मले कम्तीमा १७ करोड नेपाली रुपैयाँ ग्रस कमाउनुपर्ने देखिन्छ ।

उता, अन्तर्राष्ट्रिय बजारमा पनि फिल्मले दमदार प्रदर्शन गरेको छ । ओपनिङ सप्ताहन्तमै भारतमा ४२६ करोड (नेट) र विश्वभर करिब ७०० करोड भारतीय रुपैयाँ कमाएको जनाइएको छ ।

हालको गतिलाई हेर्दा ‘धुरन्धर–२’ ले नेपालमा पनि बलियो व्यापार निरन्तरता दिने संकेत देखिएको छ ।

सम्बन्धित समाचार

सबै