काठमाडौं । चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारका लागि औपचारिक रूपमा आवेदन आह्वान गरेको छ । बोर्डले सूचना जारी गर्दै स्वदेशी चलचित्रलाई विभिन्न विधामा प्रतिस्पर्धाका लागि सहभागी हुन आग्रह गरेको हो ।
बोर्डका अनुसार राष्ट्रिय चलचित्र पुरस्कारतर्फ २०८२ वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका फिल्महरूले आवेदन दिन पाउनेछन् । त्यस्तै, विशेष चलचित्र पुरस्कारका लागि सोही अवधिभित्र चलचित्र जाँच समितिबाट जाँच भएका फिल्म मात्र योग्य हुनेछन् ।
यस वर्षको नियमअनुसार आदिवासी, जनजाति तथा मातृभाषी चलचित्रहरू पनि तोकिएको अवधिभित्र जाँच भएका भए राष्ट्रिय वा विशेष चलचित्र पुरस्कार दुवैमा सहभागी हुन सक्नेछन् । तर, एउटै फिल्मले राष्ट्रिय पुरस्कार वा आदिवासी–जनजाति तथा मातृभाषी पुरस्कारमध्ये कुनै एकमा मात्र प्रतिस्पर्धा गर्न पाउने स्पष्ट व्यवस्था गरिएको छ ।
विधागत प्रतिस्पर्धामा सहभागी हुन भने फिल्म सार्वजनिक रूपमा प्रदर्शन भएको अनिवार्य गरिएको छ ।
आवेदन प्रक्रिया पनि स्पष्ट पारिएको छ । इच्छुक निर्माता वा अधिकृत व्यक्तिले नागरिकताको प्रतिलिपिसहित स्वयं उपस्थित भई वा इमेलमार्फत आवेदन दिन सक्नेछन् । बोर्डले उपलब्ध गराएको आवेदन फाराम पूर्ण रूपमा भरी आवश्यक कागजातसहित बुझाउनुपर्नेछ ।
चलचित्र अवलोकनका लागि बोर्डले तोकेको ढाँचामा फिल्म उपलब्ध गराउनुपर्नेछ । विशेष चलचित्रतर्फ भने संक्षिप्त कथासार अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
बोर्डका अनुसार आवेदन फाराममा उल्लेख गरिएको विवरण र चलचित्रमा प्रयोग भएका नामबीच पूर्ण मेल हुनुपर्नेछ । साथै, सहभागितासम्बन्धी सबै अन्तिम निर्णय गर्ने अधिकार बोर्डमै सुरक्षित रहनेछ ।
आवेदन फाराम बोर्डको कार्यालय वा आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ । साथै, विस्तृत जानकारीका लागि बोर्डमा प्रत्यक्ष सम्पर्क गर्न सकिने पनि जनाइएको छ ।