‘मिस इन्डिया २०२६’ मा नेपाली फिल्म ‘कुस्ती’ अभिनेत्री दिकिला शेर्पा प्रतिष्पर्धा गर्दै

0 Shares

पासाङ डेकी शेर्पा (दिकिला शेर्पा) यस वर्षको प्रतिष्ठित फेमिना मिस इन्डिया २०२६ प्रतियोगितामा भारतको सिक्किम राज्यबाट प्रतिनिधित्व गर्ने भएकी छन् । प्रतियोगिता आगामी अप्रिल १८ मा भारतको ओडिशा राज्यको भुवनेश्वरमा आयोजना हुँदैछ ।

मिस इन्डिया अर्गनाइजेसनले हालै इन्स्टाग्राममार्फत विभिन्न राज्यका प्रतिस्पर्धीहरूको सूची सार्वजनिक गरेको हो, जसअनुसार दिकिला शेर्पा सिक्किमको प्रतिनिधित्व गर्ने सूचीमा परेकी छन् ।

सौन्दर्य प्रतियोगिताको तयारीका लागि उनलाई ‘सिक्किम ग्ल्यामर वल्र्ड’ ले प्रशिक्षण र मार्गदर्शन दिइरहेको छ । खास नाम पासाङ डेकी शेर्पा भए पनि उनी मनोरञ्जन क्षेत्रमा दिकिला शेर्पा नामले परिचित छिन् ।

उनले सन् २०२१ मा मिस टिन फेसन आइकन उपाधि जितेकी थिइन्, जसले उनको प्रारम्भिक सफलतालाई संकेत गरेको थियो ।

दिकिला शेर्पा भारतको चर्चित रियालिटी शो स्प्लिट्सभिल्ला बाट पनि चर्चामा आएकी थिइन् । यसैबीच, उनले नेपाली फिल्म उद्योगमा पनि प्रवेश गर्दै कुस्ती बाट अभिनय डेब्यू गरेकी छिन्, जुन निर्देशक बुद्धि तामाङ को निर्देशनमा बनेको फिल्म हो र हाल प्रदर्शन तयारीमा छ ।

यसअघि उनी रोहित अधिकारीको फिल्म ‘माइतीघर’ मा देखिने चर्चा भए पनि पछि उक्त प्रोजेक्टबाट बाहिरिएर ‘कुस्ती’ मा जोडिएकी थिइन् ।

साथै, दिकिलाले अभिनय गरेको एकदेव लिम्बुको गीत झिमझिमाउने आँखा यस वर्षको ग्लोबल हिट गीतमध्ये एक बनेको छ ।

उनको मिस इन्डियातर्फको सहभागिताले नेपाली मूलका कलाकारहरूको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप उजागर गरेको छ ।

सम्बन्धित समाचार

सबै