चलचित्र पत्रकार संघका सबै शाखा अधिवेशन सम्पन्न, बैशाख ५ मा केन्द्रिय महाधिवेशन

0 Shares

काठमाडौं — चलचित्र पत्रकार संघ नेपालका १५ जिल्लाका शाखा तथा ८ विदेशी शाखाका अधिवेशन सम्पन्न भएका छन्। संघले आगामी बैशाख ५ गते काठमाडौंमा १०औँ केन्द्रिय महाधिवेशन गर्ने भएको छ।

संघका अध्यक्ष समीर बलामीका अनुसार सबै प्रदेश र जिल्लामा शाखा विस्तार भइसकेको छ, जसले संघको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँचलाई बलियो बनाएको छ।

उनका अनुसार संघको गतिविधि चलचित्र पत्रकारितामा मात्र सीमित नभई कला, साहित्य, गीत–संगीत, रंगमञ्च तथा मनोरञ्जन क्षेत्रसम्म विस्तार गरिएको छ।

आगामी महाधिवेशनमार्फत १७ सदस्यीय केन्द्रिय समिति तीन वर्षका लागि चयन गरिनेछ।

देशभरका शाखाहरूमा नयाँ कार्यसमितिहरू चयन भइसकेका छन्। कोशी, कास्की, पर्सा, सुनसरी, मकवानपुर, मोरङ, चितवन, ईलाम, रूपन्देही, कैलाली, झापा, सुर्खेत, बाँके र दाङसहित विभिन्न जिल्लामा नेतृत्व चयन गरिएको संघले जनाएको छ।

संघले सदस्यहरूको क्षमता विकासका लागि तालिम, कार्यशाला, अन्तरक्रिया, राष्ट्रिय भेला तथा कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै बिरामी सदस्यलाई सहयोग, नीतिगत छलफल र संस्थागत गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

संघले नेपाली चलचित्र उद्योगको विकासमा सञ्चार माध्यममार्फत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको दाबी पनि गरेको छ।

सम्बन्धित समाचार

सबै