काठमाडौं — यही चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ले चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यससँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएको छ।
निर्देशक मधुसुदन भट्टराईका अनुसार फिल्मले सेन्सर पास भइसकेको छ। उनले भने, “फिल्मको सेन्सर पास भइसकेको छ। युनिभर्सल सर्टिफिकेट पाएकाले सबै उमेरका दर्शकले हेर्न पाउनुहुनेछ।”
निर्माण पक्षका अनुसार सुरुदेखि नै चर्चामा रहेको यो फिल्म रिलिज मिति नजिकिँदै गर्दा प्रचार–प्रसारलाई तीव्र बनाइएको छ।
प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा बनेको फिल्म त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्। कमेडी र सामाजिक कथामा आधारित फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), यादव देवकोटा (सरापे) लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्ममा विक्रम तामाङ कार्यकारी निर्माता छन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। छायांकन शिव ढकालले गरेका हुन् भने सम्पादन बनिश शाहले गरेका छन्।
संगीत साप शक्ति र बाबुल गिरीको रहेको छ। नृत्य निर्देशन कमल राई र इन्द्र देव महर्जनले गरेका छन्। पाश्र्व संगीत सम्राट थापाको, ध्वनि मिश्रण मुकेश शाहको र रंग संयोजन रेनिश फागोको रहेको छ।
फिल्मको द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन् भने कला निर्देशन दिनेश लामा ‘गैंडा’ले गरेका छन्। पोस्ट–प्रोडक्सन मोसन स्टुडियोले सम्पन्न गरेको हो।
फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
