काठमाडौं — फिल्म ‘आ बाट आमा २’ का मुख्य कलाकारका रूपमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्धित भएका छन्। निर्देशक चन्द्र पन्तले सोमबार दुवै कलाकारलाई औपचारिक रूपमा फिल्ममा भित्र्याएको जानकारी दिएका हुन्।
निर्माण पक्षका अनुसार हाल प्रदर्शनरत फिल्म ‘आ बाट आमा’मा विपना थापाले आमाको भूमिका र पल शाहले छोराको भूमिका निर्वाह गरेका थिए। सोही कथालाई निरन्तरता दिँदै केही नयाँपनसहित सिक्वेल निर्माण गर्न लागिएको हो।
अघिल्लो भागका कलाकार उषा उप्रेती र सिम्रन पन्तको निरन्तरता हुने वा नहुने विषयमा भने निर्माण पक्षले हालसम्म स्पष्ट जानकारी दिएको छैन। निर्देशक पन्तले बाँकी विवरण क्रमशः सार्वजनिक गरिने बताएका छन्।
उनका अनुसार फिल्मको छायांकन आगामी नयाँ वर्ष अर्थात बैशाखदेखि सुरु हुनेछ। फिल्मलाई आउँदो वर्षको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
निर्देशक चन्द्र पन्तले भने, “अहिले दुई जना कलाकारलाई अनुबन्ध गरेका छौँ। अन्य जानकारी विस्तारै सार्वजनिक गर्दै जानेछौँ।”