काठमाडौंमा गरगहना तथा मोबाइल चोरी गरी सुन पगालेर स्वरूप परिवर्तन गर्ने गिरोहका ५ जना पक्राउ परेका छन्। प्रहरीको अनुसन्धानका क्रममा चोरीका सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
मिति २०८२ फागुन २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तिनथानास्थित एक घरबाट १.५ तोलाको सुनको सिक्री, १ तोलाको औँठी, आधा तोलाको झुम्का १ जोर, आधा तोलाको माईली तिलहरी, दुई थान मोबाइल र नगद ५ हजार रुपैयाँ चोरी भएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धान तथा खोजतलासका क्रममा चोरीमा संलग्न व्यक्तिहरूलाई काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा, बागमती ड्राइभिङ सेन्टर अगाडिबाट मिति २०८२ चैत १० गते पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट चोरी भएका दुई थान मोबाइल, पगालेर राखिएको सुनजस्तो देखिने २३.३० ग्राम पहेँलो धातु तथा चोरीमा प्रयोग भएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका–७ घर भई हाल तारकेश्वर–१० बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (पूर्व) कावासोती–१७ घर भई हाल म्हेपी बस्ने २८ वर्षीय प्रदिप गुरुङ, ओखलढुंगा खिजीदेम्बा–९ घर भई सामाखुशी बस्ने २९ वर्षीय लाक्पा शेर्पा, रसुवा नौकुण्ड–५ घर भई म्हेपी बस्ने २८ वर्षीय सागर कामी तथा भारत महाराष्ट्र सोलापुर घर भई हाल काठमाडौं–१५ बस्ने २८ वर्षीय गौरब गुणाजी मोरे रहेका छन्।
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।