काठमाडौं। सरोज दाहालको लेखन तथा निर्देशनमा तयार भएको टेली चलचित्र ‘संस्कार’ को ट्रेलर एक विशेष कार्यक्रममा सार्वजनिक भएको छ। कार्यक्रममा चलचित्रकर्मी, कलाकार र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निर्माण टिमका अनुसार, ‘संस्कार’ ले पारिवारिक सम्बन्ध, सामाजिक मूल्य–मान्यता र जीवनका यथार्थ पक्षलाई दर्शकसम्म पुर्याउने प्रयास गरेको छ। चलचित्रका निर्माता आरजे सिंह र निर्मला खाती हुन् भने छायांकनमा निर्मल ढकाल जिम्मेवार रहेका छन्। सम्पादनको जिम्मा समेत निर्देशक दाहालले नै सम्हालेका छन्।
चलचित्रका गीतहरूमा नरहरी प्रेमी र पवित्रा गुरुङको स्वर रहेको छ भने ब्याकग्राउण्ड म्युजिक सुरज कुमार त्रिखत्रीले तयार पारेका हुन्। संगीत ‘हार्मोनिक डिजिटल रेकर्डिङ स्टुडियो’ मा रेकर्ड गरिएको छ, जसले कथालाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ। प्रकाश व्यवस्थापन नरेन्द्र शाहीले सम्हालेका छन्।
कलाकारको रूपमा आरजे सिंह, नारायण खाती, राम बुढाथोकी, सरोज दाहाल, सीमा दाहाल, चण्डिका बस्नेत, दीपक बिके, समिता रिजाल, रुष्मिता रम्तेल, निर्मला खाती, मन्दिरा पोखरेल भण्डारी, नरेन्द्र शाही, सुरज कुमार त्रिखत्री र दीपक घमाल लगायतको अभिनय देख्न पाइन्छ।
ट्रेलरमार्फत पारिवारिक कथा, भावनात्मक उतारचढाव र समाजको यथार्थ चित्रण स्पष्ट देखिन्छ। निर्माण टिमले टेली चलचित्रले दर्शकमाझ सकारात्मक सन्देश पुर्याउने विश्वास व्यक्त गरेको छ। ट्रेलर सुबर्ण टिभीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो। सिरियल प्रत्येक शुक्रवार साँझ यही च्यानलमार्फत प्रसारण हुनेछ।