नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न गठित कार्की आयोग निष्पक्ष छानबिनका लागि नभएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले आयोगको प्रतिवेदनले नै यसको पुष्टि गरेको दाबी गरेका हुन्। उनले लेखेका छन्, “कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ। सोही अनुसार निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ।”
पोखरेलले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भइरहेको पनि उल्लेख गरेका छन्। उनका अनुसार अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणले नयाँ शक्तिको उदय भएको छ।
उनले लेखेका छन्, “अबको बाटो सजिलो नहुन सक्छ—राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ।”
यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्यांकन गर्न दिनु उपयुक्त हुन सक्ने उनको धारणा छ।
तर उनले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादलाई दीर्घकालीन समाधानका रूपमा नहेर्न आग्रह गरेका छन्। “यी प्रवृत्तिहरू आजका चुनौतीहरूको समाधान होइनन् र विचारधारात्मक राजनीतिको विकल्प पनि बन्न सक्दैनन्,” उनले उल्लेख गरेका छन्।