राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहता बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्।
मेहता सुनसरीको इनरूवा निवासी हुन्। रास्वपाको केन्द्रीय सदस्यसमेत रहेकी उनी समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्।
२०७९ को निर्वाचनमा पनि उनको नाम समानुपातिक सूचीमा भए पनि उनी त्यसबेला सांसद बन्न सकेकी थिइनन्। दोस्रो प्रयासमा भने उनी प्रतिनिधिसभा सदस्य बनेकी हुन्।
मेहता पार्टी स्थापनाकालदेखि नै सक्रिय राजनीतिमा संलग्न रहँदै आएकी हुन्। २०४४ साल साउन २२ गते जन्मिएकी उनले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छन्।
राजनीतिमा आउनुअघि उनले विराट टिचिङ अस्पतालमा समेत काम गरेकी थिइन्। सांसद बनेपछि उनले उक्त पेशा छोडेकी हुन्।
उनले नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशअन्तर्गत स्वास्थ्य शिविर सञ्चालनमा प्रशासन सचिवका रूपमा पनि काम गरेकी थिइन्।
मेहताका श्रीमान् प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज सिंह हुन्, जो कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख छन्।