काठमाडौँ — पोखराका लेखक गनेश पौडेल बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा पर्यटन तथा संस्कृति मन्त्री बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कास्की–१ मा प्रत्यक्ष निर्वाचन जितेका पौडेल पोखराको मझेरीपाटन निवासी हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्।
साहित्यिक क्षेत्रमा सक्रिय पौडेलका दुई कृति प्रकाशित छन्। ‘पैताला’ उनकाे आफ्नै उपन्यास हो भने ‘मुसा मानुस’ अमेरिकी लेखक जोन स्टेनबेकको कृति अफ माइस एण्ड मेनको नेपाली अनुवाद हो।
राजनीतिमा आउनुअघि उनी २०७९ को स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बनेका थिए। त्यसबेला उनले शिक्षा सुधार, फेवाताल संरक्षण र पोखरा विकासका मुद्दा उठाएका थिए। यद्यपि उनी पराजित भएका थिए।
उक्त निर्वाचनमा काठमाडौं महानगरका मेयर बालेन शाहको चुनाव चिह्न ‘लौरो’ नै प्रयोग गरेका पौडेलले बालेनसँग निकट राजनीतिक सहकार्य पनि गरेका थिए। पछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि पौडेल पनि पार्टीमा सक्रिय बनेका थिए।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कास्की–१ बाट उनले ३९ हजार ८८३ मत ल्याउँदै विजयी भएका थिए।