काठमाडौँ — रामनवमीको अवसर पारेर नेपाली फिल्म ‘हामी तीन भाइ’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ। १०० भन्दा बढी शोसहित रिलिज भएको फिल्म शुक्रबारदेखि औपचारिक रूपमा प्रदर्शनमा आएको हो।
निर्माण पक्षले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ। सामाजिक कथा, कमेडी र पारिवारिक द्वन्द्वलाई समेटिएको फिल्मले मनोरञ्जनसँगै सन्देश पनि दिने बताइएको छ।
सेन्सर बोर्डबाट ‘युनिभर्सल’ प्रमाणपत्र पाइसकेको यस फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्।
निर्देशक मधुसुदन भट्टराईले फिल्मलाई लिएर उत्साह व्यक्त गरेका छन्। पछिल्लो समय नेपाली फिल्मप्रति दर्शकको आकर्षण घटिरहेको अवस्थामा ‘हामी तीन भाइ’ले दर्शकलाई हलसम्म फर्काउने अपेक्षा निर्माण पक्षको छ।
फिल्मको कथा तीन दाजुभाइबीचको सम्बन्ध, उनीहरूबीचको मनमुटाव र पारिवारिक उतारचढावमा आधारित छ।
फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, रविन्द्र झा, राजाराम पौडेल, ‘हर्के हल्दार’ विष्णु सापकोटा, यादव देवकोटा (सरापे) लगायत कलाकारहरूको अभिनय रहेको छ।
प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने विक्रम तामाङ कार्यकारी निर्माता रहेका छन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।
शिव ढकालको छायांकन, बनिश शाहको सम्पादन तथा शक्ति र बाबुल गिरीको संगीत रहेको फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन छ। फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गरेको हो भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
निर्माण पक्षले पोस्टरदेखि ट्रेलरसम्म दर्शकको राम्रो प्रतिक्रिया आएको भन्दै फिल्मले पनि सफल हुने विश्वास व्यक्त गरेको छ।