आज प्रधानमन्त्रीको शपथ लिएका बालेन्द्र शाह (बालेन) ले सार्वजनिक गरेको गीत ‘जय महाकाली’ ले युट्युबमा नयाँ कीर्तिमान बनाएको छ।
बिहीबार साँझ सार्वजनिक भएको उक्त गीतले २४ घण्टाभित्र हालसम्मकै सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड बनाएको हो। शुक्रबार बिहान ७ बजेसम्म गीतलाई २१ लाखभन्दा बढी पटक हेरिएको थियो भने हालसम्म यसले ३१ लाख ३७ हजार बढी भ्यूज पाइसकेको छ ।
यसअघि २४ घण्टाभित्र सबैभन्दा धेरै हेरिएको नेपाली गीतको रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको ‘जाने भए जाम माया’ ले राखेको थियो, जसले १६ लाख ३६ हजार भ्यूज पाएको थियो। त्योभन्दा अघि विष्णु माझीको ‘आइन आमा यो तीजमा’ ले १५ लाख भ्यूजको रेकर्ड बनाएको थियो।
रिलिज भएको तीन घण्टामै ‘जय महाकाली’ ले १० लाख भ्यूज पार गर्दै सबैभन्दा छिटो यो आँकडा पुग्ने नेपाली गीतको कीर्तिमान पनि बनाएको छ।
११ वर्षअघि सार्वजनिक भएको अडियोको रिमास्टर संस्करण रहेको यो गीतमा चुनावी अभियानका दृश्य समेटिएको भिडियो प्रयोग गरिएको छ।
शपथ समारोहको पूर्वसन्ध्यामा गीत रिलिज भएपछि सामाजिक सञ्जालमा यसको चर्चा र ‘हाइप’ थप बढेको देखिएको छ।