बुटवलमा खुल्यो फ्रेन्डस् सिनेमाज्

0 Shares

शुक्रबारबाट बुटवलमा नयाँ हल फ्रेन्डस् सिनेमाज् औपचारिक रुपमा संचालनमा आएको छ ।

२२२ सिट क्षमताको यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ । धरानको चर्चित फ्रेन्डस् सिनेमाज्को फ्रेन्चाइज्को रुपमा ल्याइएको यो हल रोयल सिने हब प्रालिले संचालन गरेको हो ।

चलचित्र वितरणमा समेत सक्रिय एवं सफल ३ युवा आशिष तामाङ,प्रदिप धामी र पुष्कर घिमीरले फ्रेन्डस् सिनेमाज्को ब्राण्ड बिस्तार गर्ने क्रममा बुटवलमा यो दोश्रो हल संचालन गरेका हुन् ।

आफुहरुले नयाँ व्यवस्थापनसहित अत्याधुनिक प्रविधिसहित दर्शकका लागि सेवासुविधा र सहुलियतका साथ हल संचालनमा ल्याएको जानकारी संचालक मध्येका एक आशिष तामाङले दिए ।

उनले हल खोलेको उपलक्ष्यमा पहिलो साताभरि टिकट दर रु १५० राखिएको बताए ।

बिहानी शो, मंगलबार र बुधबारका शोका टिकट दर भने अन्य दिनका भन्दा कम हुने जनाइएको छ । दैनिक ६ शोसम्म चलाउन सकिने भ्यु सिनेमाज् अब फ्रेन्डस् सिनेमाज्का रुपमा आएको छ । हलमा नेपाली फिल्मलाई नै प्राथमीकता दिने दावी संचालक टिमको छ ।

हल संचालनसँगै फिल्म वितरणमा समेत छोटो समयमै आफूलाई स्थापित गरिरहेको यो टिमले कुवेर सिने डिस्टिब्युसनमार्फत हालसम्म ‘फर्की फर्की’, ‘कुश्मा’ र ‘१२ गाउँ’ जस्ता हिट फिल्म वितरण गरिसकेको छ भने अब ‘उनको स्वीटर’,‘बलिदान’,‘रेशम फिरिरी’ लगायतका फिल्म दर्शकमाझ ल्याउदैछ ।

फिल्म वितरणसँगै भविष्यमा फिल्म निर्माण अनि देशका अन्य स्थानमा फ्रेन्डस सिनेमाज् विस्तार गर्ने योजना टिमको छ ।

सम्बन्धित समाचार

सबै