काठमाडौँ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिँदै सरकारलाई आवश्यक सल्लाह, सुझाव र खबरदारी गर्ने बताएका छन्।
प्रधानमन्त्रीले शपथ लिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत घिसिङले बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, “प्रतिनिधि सभामा झण्डै दुई तिहाइ बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।”
घिसिङले सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा बनेको जनादेशअनुसार सरकारबाट संविधान, शासन प्रणाली तथा राज्य संरचनालाई अझ नागरिकमैत्री बनाउने अपेक्षा व्यक्त गरेका छन्।
उनका अनुसार भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउँदै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने, रोजगारी विस्तार गर्ने, प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा पूर्वाधार विकासलाई सुदृढ गर्ने दिशामा सरकार अघि बढ्नुपर्नेछ।
“सुशासन, समृद्धि र सामाजिक न्यायसहितको नेपाल निर्माणमा यो सरकार सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु,” उनले लेखेका छन्, “साथै सरकारलाई आवश्यक सल्लाह सुझाव दिन र कामकारबाहीमा खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्न उज्यालो नेपाल पार्टी प्रतिबद्ध छ।”