‘मितज्यू’को ‘गैराघरे काँइली’ हिट, ६ दिनमै ११ लाख भ्युज

0 Shares

काठमाडौं । जनक घर्ती मगरको निर्माणमा बनेको फिल्म ‘मितज्यू’को पहिलो गीत ‘गैराघरे काँइली’ले सार्वजनिक भएको छोटो समयमै दर्शकको उल्लेखनीय साथ पाएको छ। गीतले युट्युबमा रिलिज भएको ६ दिनमै ११ लाखभन्दा बढी भ्युज पार गर्न सफल भएको हो।

गीतको तीव्र लोकप्रियतासँगै निर्माण टिम उत्साहित बनेको छ। निर्माता मगरले दर्शकप्रति आभार व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन्। उनले छोटो समयमा प्राप्त माया र समर्थनले थप ऊर्जा दिएको बताएका छन्।

समाचार तयार पार्दासम्म गीतलाई २४ हजारभन्दा बढी लाइक र १३ सयभन्दा बढी कमेन्ट प्राप्त भएका छन्। अधिकांश प्रतिक्रिया सकारात्मक छन्, जहाँ दर्शकले गीत, प्रस्तुति र कलाकारको अभिनयको खुलेर प्रशंसा गरेका छन्।

विशेषगरी तेरिया फौजा मगरको नृत्य र सौगात मल्लको फरक शैलीको अभिनयले दर्शकको ध्यान खिचेको छ। प्रायः समान खालका भूमिकाका कारण आलोचना खेप्दै आएका सौगातलाई यस गीतमा फरक अवतारमा देख्न पाइएकाले दर्शक उत्साहित देखिएका छन्।

गीतको भिडियोमा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर मुख्य रूपमा प्रस्तुत छन्। लोकलयमा आधारित गीतमा सौगात र तेरियाको गाउँले पहिरनमा गरिएको नृत्य आकर्षक देखिन्छ भने दयाहाङ कथानकअनुसार प्रस्तुत भएका छन्।

गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको छ। शब्द तथा संगीत पनि मल्लकै हो भने कोरियोग्राफी मिङ्मा डि लेप्चाले गरेका हुन्।

अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्म ‘मितज्यू’मा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगरसहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ। यही फिल्मबाट तेरियाले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन लोकश बज्राचार्य र छायांकन शिशिर बिशंखेले गरेका छन्। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

‘मितज्यू’ आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार

सबै