‘पाँच पाण्डव’मा इभा गिरी, झापामा धमाधम छायांकन हुँदै

0 Shares

काठमाडौं । पूर्वी नेपालको झापामा फिल्म ‘पाँच पाण्डव’को धमाधम छायांकन भइरहेको छ। ठूलो बजेट र चर्चित कलाकारहरूको जमघटका कारण फिल्म सुरुदेखि नै चर्चामा छ।

छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण टिमले कलाकार टोलीमा दुई नयाँ अनुहार थपेको छ। प्रशान्त ताम्राकारइभा गिरी फिल्ममा भित्रिएका हुन्।

निर्देशक वसन्त निरौलाका अनुसार छायांकनको १४औँ दिनमा उनीहरू सेटमा जोडिएसँगै फिल्मको क्यानभास अझ फराकिलो बनेको छ।

गत चैत २ गते काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै सुरु गरिएको छायांकनमा दिग्गज र नयाँ पुस्ताका कलाकारहरूको संयोजन देखिन्छ।

फिल्मका मुख्य पाँच पात्र ‘पाँच पाण्डव’को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठीसागर लम्साल रहेका छन्।

महिला मुख्य भूमिकामा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन्।

लेखक सुशील पौडेलका अनुसार ‘पाँच पाण्डव’ कुनै पौराणिक कथा होइन, बरु समकालीन समाजमा आधारित ‘सोसल ड्रामा’ हो। महाभारतका पात्रहरूको बिम्ब प्रयोग गर्दै आधुनिक कथा प्रस्तुत गरिनेछ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठले फिल्मलाई भव्य बनाउन बजेटमा कुनै सम्झौता नगरेको बताएका छन्। उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए।

काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन्। ४० दिनको छायांकन तालिका रहेको फिल्मका अधिकांश दृश्य झापाका विभिन्न स्थानमा खिचिनेछन्।

कथा, पटकथा र संवाद सुशील पौडेलकै रहेको फिल्मलाई श्याम तामाङले खिचिरहेका छन्।

प्राविधिक रूपमा पनि फिल्म विशेष बन्ने देखिएको छ। ‘फुल डल्बी एट्मस’ साउन्ड प्रयोग गरिने यस फिल्मको साउन्ड डिजाइन र मिक्सिङ म्युजिक नेपालको अत्याधुनिक स्टुडियोमा हुने निर्माण टिमले जनाएको छ।

दिग्गज कलाकार, सामाजिक कथावस्तु र आधुनिक प्रविधिको संयोजनका कारण ‘पाँच पाण्डव’ले सिने वृत्तमा अहिलेदेखि नै चर्चा बटुल्न सफल भएको छ।

सम्बन्धित समाचार

सबै