काठमाडौं : निर्देशक चन्द्र पन्तको आगामी फिल्म ‘आ बाट आमा २’मा अभिनेता आकाश श्रेष्ठ अनुबन्ध भएका छन्। निर्माण टिमले उनलाई सोमबार औपचारिक रूपमा अनुबन्ध गरेको हो।
निर्देशक पन्तका अनुसार आकाशलाई कथाको आवश्यकताअनुसार महत्वपूर्ण भूमिकाका लागि छनोट गरिएको हो। उनले भने, “हामीले फिल्मको कथाअनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ।” यसअघि फिल्मका मुख्य भूमिकामा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्ध भइसकेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस फिल्ममा पल शाह, विपना थापा र आकाश श्रेष्ठ मुख्य कलाकारको रूपमा रहनेछन्। अन्य कलाकारबारे निर्माण पक्षले हालसम्म जानकारी सार्वजनिक गरेको छैन।
निर्देशक पन्त स्वयंले लेखेको कथामा बन्ने यो फिल्मको छायांकन आगामी वैशाखदेखि सुरु हुने तयारी छ। पहिलो भाग ‘आ बाट आमा’ ले १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै ठूलो सफलता हासिल गरेको थियो।
पहिलो भागमा विपना थापा आमाको भूमिकामा, पल शाह छोराको भूमिकामा र भारतीय अभिनेता प्रदीप रावत बुवाको भूमिकामा देखिएका थिए। दोस्रो भागमा उनीहरूको पुनरागमन हुने वा नहुनेबारे निर्माण पक्षले खुलाएको छैन।
फिल्मलाई दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको छ भने वितरण आर आर फिल्म्सले गर्नेछ।