काठमाडौं : जौन योञ्जन निर्देशित नेपाली फिल्म ‘क्रलिङ क्रोज: आँखा’ संयुक्त राज्य अमेरिकामा हुने विश्वप्रसिद्ध वर्ल्डफेस्ट–ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल अन्तर्गत ‘रेमी अवार्ड’का लागि मनोनित भएको छ।
यो महोत्सव आगामी अप्रिल २४ देखि मे ३, २०२६ सम्म अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजना हुनेछ। विश्वभरका फिल्म निर्माता र सिर्जनाहरू सहभागी हुने यो महोत्सवलाई स्वतन्त्र फिल्मको सबैभन्दा पुरानो र प्रतिष्ठित प्लेटफर्ममध्ये एक मानिन्छ।
यसअघि ‘आँखा’ ले ६२औं एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट फिल्म’को उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरिसकेको छ। उक्त फेस्टिभलको सर्वोच्च अवार्ड जित्ने यो पहिलो नेपाली फिल्म पनि हो।
सन् १९६१ मा स्थापना भएको वर्ल्डफेस्ट–ह्युस्टनबाट स्टिभन स्पिलबर्ग, जर्ज लुकास, डेभिड लिन्च र आङ ली जस्ता विश्वप्रसिद्ध निर्देशकहरूले समेत प्रारम्भिक करियरमा ‘रेमी अवार्ड’ प्राप्त गरेका थिए।
फिल्मको यो अन्तर्राष्ट्रिय मनोनयनले नेपाली सिनेमा विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बन्दै गएको संकेत गरेको फिल्म समीक्षकहरूले बताएका छन्। उनीहरूका अनुसार यसले नेपाली कथावाचन र प्राविधिक पक्षको सुधारिएको स्तरलाई समेत उजागर गर्छ।
निर्देशक योञ्जनले यो उपलब्धिलाई नेपाली कथाहरूले विश्व दर्शकको मन जित्न सक्ने प्रमाणका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार एसियामा ऐतिहासिक जितपछि अमेरिकाको प्रतिष्ठित मनोनयनसम्मको यात्रा नेपाली फिल्मका लागि गौरवको विषय हो।
सुकुम्बासी बस्तीमा आधारित सामाजिक यथार्थलाई चित्रण गर्ने यस फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल र बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ।