काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको दाबी गरेका छन्।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकबाट धम्की आएको आरोप लगाउँदै स्क्रिनसटसमेत सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको स्क्रिनसटमा ‘सुनिता खड्का’ नामको आईडी देखिएको छ।
साम्पाङले धम्की दिने व्यक्तिविरुद्ध आजै सीआईबीमा उजुरी दिने तयारी गरेको बताएका छन्। आफूले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यस्तो धम्की आएको उनको भनाइ छ।
उनले लेखेका छन्, “मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा रास्वपाका समर्थकले मलाई ज्यान मार्ने र मेरो घर जलाउने धम्की दिएको छ। यही हो त रास्वपाको समर्थकको लाइन? आजै सीआईबीमा उजुरी लगाउँदैछौँ।”
उनले सरकारप्रति समेत आक्रोश व्यक्त गर्दै संसद बैठक बोलाउन माग गरेका छन्। अर्को पोस्टमा उनले लोकतन्त्र र सरकारको व्यवहारबारे प्रश्न उठाउँदै प्रतिपक्षको आलोचनाप्रति असहिष्णुता देखिएको आरोप लगाएका छन्।
साम्पाङले “जनताको प्रश्नदेखि सरकार किन डराउँछ?” भन्दै सार्वजनिक रूपमा टिप्पणी गरेका छन्।
