काठमाडौं : सनराइज पिक्चर्स प्राली को ब्यानरमा निर्माण भएको फिल्म ‘बाटुलो जून’ को प्रदर्शन मिति घोषणा गरिएको छ। अभिनेता अनमोल केसी को जन्मदिनको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म २०८३ सालको दशैं, फुलपाती (असोज ३० / अक्टोबर १६) मा रिलिज हुने जनाएको हो।
पोस्टरमा अनमोलसँगै अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। पूर्णिमाको जूनलाई पृष्ठभूमिमा राखिएको दृश्यमा अनमोलले एकातिर राँको बोकेका छन् भने अर्कोतिर प्रिन्सीको पाउजुसहितको खुट्टा समातेको देखिन्छ।
अनमोलले पोस्टरसँगै जन्मदिनको उपहारस्वरूप “दशैंमा भेटौंला” सन्देश दिएका छन्। उनले दर्शकबाट प्राप्त माया–स्नेहप्रति आभार व्यक्त गर्दै आफू सधैं राम्रो कामका लागि ताली र कमजोरीमा खबरदारीको अपेक्षामा रहने बताएका छन्।
ग्रामीण परिवेशमा आधारित प्रेमकथामा निर्माण भइरहेको फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन्। निर्माता केसीका अनुसार फिल्मले दर्शकलाई करिब ३० वर्षअघिको नेपाली समाजमा पुर्याउनेछ, जहाँ पुरानो र वर्तमानको अनुभूति एकसाथ हुनेछ।
फिल्मलाई भुवन केसी ले निर्देशन गरेका हुन्, जसमा उनी स्वयं पनि मुख्य भूमिकामा छन्। अनमोल यसपटक अघिल्ला फिल्महरूभन्दा फरक अवतारमा देखिने जनाइएको छ।
‘बाटुलो जून’मा भुवन, अनमोल र प्रिन्सीसँगै नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय रहेको छ।
काठमाडौं, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरालगायतका स्थानमा छायांकन भइरहेको फिल्मको करिब १० प्रतिशत काम बाँकी रहेको छ। कार्यकारी निर्माता तेजबिक्रम केसी का अनुसार नयाँ वर्ष २०८३ को आसपास पोखरामा अन्तिम सेड्युल छायांकन गरिनेछ।