रिलिज भयो छोटो साङ्गीतिक फिल्म ‘कोठा’

0 Shares

‘कोठा’ नामक छोटो सांगीतिक फिल्म रिलिज गरिएको छ । शनिवार काठमाडौँस्थित एभरेष्ट फिल्म एकेडेमीमा एक कार्यक्रमकाबीच ‘कोठा’ सार्वजनिक गरिएको हो ।

आर्ट घर निर्मित यो फिल्मलाई भीष्म जोशीले तयार पारेका हुन् ।

जोशीको कथा एवं सोचमा तयार फिल्मले काठमाडौँमा डेरा गरेर भविष्य खोजिरहेको युवा र युवाको मनोविज्ञानलाई प्रस्तुत गर्छ ।

सपना बोकेर काठमाडौँ छिरेको ग्रामीण ठिटो र उसका भोगाई फिल्ममा देख्न सकिन्छ । निर्देशक जोशीले सहरमा भविष्य खोजिरहँदा गाउँमै छुटेका अतीतहरू अनि सहरमा भेटिएका र देखिएका रहरहरूको संयोजनलाई फिल्ममा देखाएका छन्।

‘कोठा’मा पछिल्लो समयका चर्चित गायक सङ्गीतकार प्रशान्त सिवाकोटीको आवाज तथा सङ्गीत रहेको छ । शिवाकोटीले फिल्ममा आधुनिक र लोक दुवै लयमा संगीत भरेका छन् ।

गीतमा देउडा भाकालाई पनि स्थान दिइएको छ।

‘आफू झापाली भएर पनि सुदूरपश्चिमको देउडा भाका कोठा मार्फत गाउने प्रयास गरेको छु, विश्वास छ सबैले हाम्रो नयाँ साङ्गीतिक कोसेलीलाई माया गरिदिनुहुनेछ’, कार्यक्रममा उनले भने ।

यस्तै निर्देशक जोशीले  गीतलाई गाउँबाट सहर आए पछिका आफ्नै भोगाइ र अनुभूतिहरूलाई सँगालेर ‘कोठा’ तयार गरेको बताए ।

धेरै नेपाली दर्शक तथा श्रोताहरूलाई साङ्गीतिक फिल्मले छुनेमा पनि आफू विश्वस्त रहेको उनको भनाइ छ ।

नव–कलाकार प्रवीणकुमार पाण्डेको मुख्य अभिनय रहेको साङ्गीतिक फिल्ममा सबि थापा, सरोज खड्का, कल्पना शाही, शीतल पाण्डे, सन्तोष बिस्ट, सृष्टि एैर, सागर भुसाल र अनिल दाहालको अभिनय रहेको छ ।

सरोज श्रेष्ठको छायाङ्कन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको साङ्गीतिक फिल्ममा निर्देशक जोशी र  कवि देव व्रतको शब्द सुन्न सकिन्छ ।

निर्देशक जोशीले यसअघि आर्ट घरबाटै ‘समय र उमेर’ सार्वजनिक गरेका थिए ।

सम्बन्धित समाचार

सबै