‘लालीबजार’को नयाँ पोस्टरमा स्वस्तिमा र नव-अभिनेता विशालको जोडी यस्तो देखियो

0 Shares

काठमाडौँ: आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्ष षट्कोण आर्ट्सले सार्वजनिक गरेको यस पोस्टरमा लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कासँगै नव-अभिनेता विशाल देवकोटालाई फिचर गरिएको छ, जहाँ उनीहरूलाई एउटा जोडीको रूपमा प्रस्तुत गरिएको छ।

रंगमञ्चमा निर्देशक र अभिनेताको रूपमा आफ्नो पहिचान बनाइसकेका विशालले अडिसनमार्फत यस फिल्ममा प्रवेश पाएका हुन् । कान्तिपुर थियटरमा मञ्चित नाटक ‘मीरा’ हेरेपछि निर्माण टिमले उनलाई फिल्मको अडिसनका लागि बोलाएको थियो । उनको अभिनय कौशलबाट प्रभावित भएर नै निर्माण पक्षले उनलाई स्वस्तिमाको जोडीका रूपमा डेब्यु गराउने निर्णय गरेको हो ।

आफ्नो अनुभव साट्दै विशाल भन्छन्, “सानैदेखिको कलाकार बन्ने सपना रंगमञ्च हुँदै आज पर्दासम्म आइपुगेको छ । थियटरमा पात्रलाई एकै श्वासमा जिउन पाइन्छ भने फिल्ममा दृश्य-दृश्यमा टुक्रिएर अभिनय गर्नुपर्ने रहेछ, जुन मेरा लागि नयाँ र रोचक अनुभव रह्यो ।”

यम थापाको निर्देशनमा बनेको यो फिल्म बर्दियाको राजापुरमा छायांकन गरिएको हो । फिल्मको गीत ‘मायालाई के दिउँ म बैना’ ले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ, जसलाई युट्युबमा मात्रै ८० लाखभन्दा बढी पटक हेरिसकिएको छ । पारिवारिक कथावस्तुमा आधारित यो फिल्ममा स्वस्तिमा र विशालका साथै रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।

सम्बन्धित समाचार

सबै