निफ मेन इभेन्टमा प्रवेश, विदेशी अतिथि काठमाडौं आउन थाले

0 Shares

काठमाडौं — चैत १९ देखि २३ सम्म सञ्चालन हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को नवौं संस्करणका सबै तयारी पूरा भएका छन्। आयोजकले प्राविधिक र व्यवस्थापकीय पक्षलाई अन्तिम रूप दिँदै महोत्सव ‘मेन इभेन्ट’ चरणमा प्रवेश गरेको जनाएको छ।

‘विश्वका कथाहरूको उत्सव’ भन्ने नारासहित ‘फ्युचर फर्वार्ड’ थिममा आयोजना हुन लागेको महोत्सवमा विदेशी अतिथिहरू आउने क्रम सुरु भइसकेको छ। निफका अध्यक्ष केपी पाठक ले प्रि-इभेन्ट सकिएसँगै मुख्य कार्यक्रम सुरु भएको जानकारी दिए।

उद्घाटन समारोहका विशेष अतिथि बलिउड निर्देशक रमेश सिप्पी चैत १८ गते साँझ काठमाडौं आइपुग्नेछन्। उनीसँगै कलाकार किरण जुनेजा र भारतीय फिल्म निर्माता निलकण्ठ रेग्मी पनि सहभागी हुनेछन्।

चैत १९ मा सिभिल मलमा हुने उद्घाटन समारोहमा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रूपमा रहनेछिन्।

चैत २० गते नेपाल पर्यटन बोर्डमा निर्देशक सिप्पी र महानायक राजेश हमाल बीच ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना हुनेछ, जहाँ उनीहरूले व्यक्तिगत अनुभव, फिल्म यात्रा र भविष्यबारे विचार राख्नेछन्।

यसपटक निफमा युवा मेकरलाई लक्षित गर्दै पाँच दिने एआई फिल्म वर्कसप पनि सञ्चालन हुनेछ। संयोजक शिव पुरी का अनुसार वर्कसपमा एआई प्रयोग, डिजिटल कन्टेन्ट, कानुनी जटिलता र प्रतिलिपि अधिकारबारे छलफल गरिनेछ।

लेखक र निर्माता जोड्ने उद्देश्यले ‘फिचर पिच’ कार्यक्रम पनि समावेश गरिएको छ, जहाँ लेखकहरूले आफ्ना कथा प्रस्तुत गर्न पाउनेछन्।

यस संस्करणमा ४० देशका ८८ फिल्म प्रतिस्पर्धामा छन्। साथै ६ चिनियाँ र ४ रुसी फिल्म विशेष प्रदर्शनमा रहनेछन्। रसियन हाउसमा ‘रसियन फिल्म डेज’ आयोजना हुनेछ भने केही प्रदर्शन निःशुल्क रहनेछन्।

साथै ‘सिजाङ प्यानोरमा’ अन्तर्गत ६ चिनियाँ फिल्म र वृत्तचित्र प्रदर्शन गरिनेछ, जुन पर्यटन बोर्ड र छायाँ सेन्टरमा निःशुल्क हेर्न सकिनेछ। प्रतिस्पर्धी फिल्म भने सिभिल मल र छायाँ सेन्टरमा सशुल्क प्रदर्शन गरिनेछ।

महोत्सव अवधिभर १० वटा अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरिनेछ, जसमा विभिन्न देशका फिल्ममेकरहरूले अनुभव आदान–प्रदान गर्नेछन्।

सम्बन्धित समाचार

सबै