काठमाडौं — पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी को पारिवारिक विवाद पुनः सतहमा आएको छ। उनले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत एकपछि अर्को स्टाटस लेख्दै आफ्ना गुनासा सार्वजनिक गरेकी छन्।
पूर्वपतिबाट मानसिक तनाव र हस्तक्षेप भइरहेको आरोप लगाउँदै उनले फेसबुकमा लगातार प्रतिक्रिया दिइरहेकी हुन्।
पहिलो स्टाटसमा उनले लेखेकी छन्, “एकल आमा हुनुमा मलाई गर्व छ।”
त्यसपछि उनले अर्को स्टाटसमा पूर्वपति जीपी तिमल्सिना प्रति संकेत गर्दै आफूलाई गाली गर्ने, जीवनमा हस्तक्षेप गर्ने र असुरक्षा महसुस गराएको आरोप लगाएकी छन्। उनले आवश्यक परे प्रहरी प्रशासनमा जाने चेतावनीसमेत दिएकी छन्।
तेस्रो स्टाटसमा उनले एउटै घरमा बसाइका क्रममा अपमानजनक व्यवहार, पाहुनासामु दुर्व्यवहार तथा पारिवारिक तनाव बढेको दाबी गरेकी छन्। अदालतबाट आफूले घरमा अंश पाएको उल्लेख गर्दै उनले आफ्नो अधिकार सुनिश्चित गर्न राज्यसँग प्रश्न गरेकी छन्।
चौथो स्टाटसमा उनले सम्पत्तिमा चार अंशियार रहेको दाबी गर्दै आफू, छोरी, छोरा र पूर्वपतिको समान २५–२५ प्रतिशत अधिकार रहेको उल्लेख गरेकी छन्। उनले उक्त घरलाई एकल स्वामित्वका रूपमा दाबी गर्न नमिल्ने बताएकी छन्।
२०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालतमा उषा खड्गी र जीपी तिमल्सिना बीच सम्बन्धविच्छेद भएको थियो। त्यसको करिब ६ महिनापछि, अंशबण्डा टुंगो नलाग्दै, जीपी तिमल्सिनाले मंसिर १९ मा सविना अधिकारी सँग दोस्रो विवाह गरेका थिए।