प्रेस काउन्सिल नेपाल ले पत्रकार सुरज खड्का सञ्चालक रहेको ‘एनपीएलप्रेस डटकम’लाई सूचीकरणबाट हटाउँदै कालोसूचीमा राखेको छ।
काउन्सिलले उक्त अनलाइन मिडियामाथि कारबाही गर्दै सूचीकरण रद्द गरेको हो। साथै, खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभाग मा पत्राचार समेत गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंह का अनुसार फागुन ८ गतेको निर्णयअनुसार एनपीएलप्रेसलाई अवज्ञाकारी मिडिया ठहर गर्दै कालोसूचीमा राखिएको हो।
यसअघि खड्काको एक भिडियो सार्वजनिक भएको थियो, जसमा उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एक कार्यक्रममा लुगा खोलेर कार्यकर्तासँग विवादमा उत्रिन खोजेको देखिन्छ। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
खड्कामाथि ‘नेपाल प्रेस’सँग मिल्दोजुल्दो नाम प्रयोग गरी पाठकलाई झुक्याउने उद्देश्यले अनलाइन दर्ता गरेको आरोप समेत लागेको छ। साथै, विभिन्न विद्यालय, वडा कार्यालय तथा निजी संस्थामा गएर धम्क्याउने र अनुमति बिना क्यामेरा लिएर दुर्व्यवहार गर्ने उजुरीहरू प्राप्त भएपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
यस विषयमा ‘नेपाल प्रेस’ले केही महिनाअघि नै काउन्सिललाई मौखिक जानकारी गराएको बताइएको छ।